२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

समानुपातिकमा पुरानै प्रवृत्ति

shivam cement
२०८२ चैत २ गते ०६:२५
Shares
समानुपातिकमा पुरानै प्रवृत्ति

काठमाडौं : राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त सिटका लागि नाम सिफारिस गरेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरूले नाम सिफारिस गरेका हुन् । रास्वपाले ५७ जना, नेपाली कांग्रेसले २० जना, नेकपा एमालेले १६ जना, नेपाली कम्युनिस्ट पार्टीले ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४/४ जनाको नाम सिफारिस गरेका छन् । 

२१ फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८३ हजार ४९३, नेपाली कांग्रेसले १७ लाख ५९ हजार १७२, नेकपा एमालेले १४ लाख ५५ हजार ८८५, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ११ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ९०२ र राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएका थिए । दलहरूले पाएको मतका आधारमा समानुपातिक सिट बाँडफाँट भएको हो । 

रास्वपाले खसआर्य क्लस्टरबाट १७ जना, जनजातिबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारूबाट ४ जना र मुस्लिम क्लस्टरबाट ३ जनाको नाम सिफारिस गरेको छ । जसमा ४८ जना महिला र ९ जना पुरुष छन् । तर, उनीहरूको नाम सार्वजनिक गरिएको छैन । 

रास्वपाका प्रवक्ता मनीष झाले निर्वाचन आयोगबाट सदर भएसँगै समानुपातिक सांसदहरूको नाम सार्वजनिक हुने बताएका छन् । नेपाली कांग्रेसले पनि २० जना समानुपातिक सांसदको नाम सिफारिस गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार आइतबार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको हो । 

आदिवासी जनजातिबाट ६ जना, खसआर्यबाट ६ जना तथा थारू, दलित, मधेसी, मुस्लिम र पिछडिएका गरी कुल ५ जनाको नाम सिफारिस गरिएको छ । 

खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी रहेका छन् । आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे छन् । 

मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव छन् । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक, मानबहादुर नेपाली र थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार, मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरेको छ ।

यसमध्ये अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे पटक–पटक सांसद भएर काम गरिसकेका नेता हुन् । केसी त वर्तमान सभापति गगन थापाका ससुरा हुन् । 

नेकपा एमालेले १६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यको नाम भएको छ । 

महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बरालको नाम भएको छ । पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरुषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी महिलामा रिङ्ला यादव तथा यशोधाकुमारी यादव, मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीको सिफारिस भएको छ । 

यसमध्ये बादल यसअघि पहिलो संविधानसभामा थिए । त्यसबेला उनी रक्षामन्त्री बनेका थिए । २०७४ सालमा राष्ट्रिय सभा सदस्य भएका उनी त्यसबेला गृहमन्त्री बनेका थिए । यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य हुन लागेका हुन् । पद्मा अर्याल पनि २०७४ सालमा प्रतिनिधिसभा सदस्य भएकी थिइन् । त्यसबेला भूमि व्यवस्थामन्त्री बनेकी थिइन् । २०७९ सालमा स्याङ्जा २ बाट चुनाव हारिन् । यसपटक समानुपातिक तर्फबाट सांसद बन्न लागेकी हुन् । 

यस्तै, निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीले बुझाएको समानुपातिकतर्फका नाममा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपांगताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् । यसमध्ये बलावती शर्मा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य थिइन् । 

निर्वाचन आयोगले दलहरूबाट प्राप्त नाम रुजु गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ । आयोगले दलहरूबाट प्राप्त नामउपर निर्णय लिएसँगै निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिनेछ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । ११० जना समानुपातिक तर्फबाट आउँछन् । समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएसँगै आयोगले निर्वाचन परिणाामसहितको प्रतिवेदन राष्ट्रतिकहाँ पठाउँछ । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । 

सम्बन्धित खबर