
काठमाडौं : इतिहासकै ठुलो पराजय बेहोरेपछि नेकपा एमालेमा नीति, नेतृत्व र कार्यशैली परिवर्तनको बहस सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नु पर्ने र नपर्ने दुई ध्रुवमा नेता तथा कार्यकर्ताहरू विभाजित छन् । यहीबेला महासचिव शंकर पोखरेलले देशभरका प्रदेश तथा जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक गर्दै ब्रिफिङ गरेका छन् ।
महासचिव पोखरेललेले रास्वपाले पाएको ताजा जनमतलाई लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएका रुपमा व्याख्या गरेका छन् । रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै उनले भने, ‘उनीहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि छैन । यस्ता शक्ति छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै आउँछन् । तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ।’
एमालेको पराजयलाई उनले गलत भाष्यले जनतामा उत्पन्न भ्रमलाई चिर्न नसक्दाको परिणाम भनेका छन् । चुनावमा पार्टी अध्यक्ष ओली र एमालेविरुद्ध मात्र नभई नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको उल्लेख गर्दै एमाले महासचिव पोखरेलले भने, ‘यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप बन्यो । जसलाई हामीले चिर्न सकेनौं ।’
पार्टीले पराजय बेहोरे पनि जनताले दिएको अभिमतलाई एमालेले सम्मान गर्ने उनले बताए । चुनाव अनपेक्षित रहे पनि आम मतदाताले एमालेसँगको सम्बन्ध विच्छेद नगरेको दाबी गर्दै पोखरेलले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको बताएका छन् । ‘जनताले हामीसँग सम्बन्ध बिच्छेद गरेका होइनन् । पार्टीले अब थप नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने छ’ उनले भने, ‘लोकप्रियतावादी शक्तिले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनता स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने छन् ।’