२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

बालेन अभियानदेखि संसद्सम्म

shivam cement
दिवाकर अधिकारी
२०८२ चैत ३ गते ०६:३५
Shares
बालेन अभियानदेखि संसद्सम्म

काठमाडौं : यसपटक प्रतिनिधिसभामा धेरै नयाँ अनुहार देखिने भएका छन् । चुनावी परिणामले पुराना राजनीतिक समीकरणलाई मात्रै होइन, संसद्मा लामो समयदेखि देखिँदै आएका ‘पुराना अनुहार’लाई पनि बदलिदिएको छ । १६५ प्रत्यक्ष निर्वाचित सांसदमध्ये १४० जना पहिलोपटक संसद् छिर्दै छन् ।

तिनैमध्येका एक युवा हुन्– काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सस्मित पोखरेल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं सहप्रवक्ता रहेका उनले ३० हजार ७३७ मतसहित पुराना दलका ‘हेभिवेट’ उम्मेदवारलाई माथ खुवाइदिए । सो क्षेत्रमा नेकपा एमालेका पूर्वउपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाजस्ता स्थापित नेताहरू उम्मेदवार थिए । तर काठमाडौं–५ का मतदाताले यसपटक नयाँ अनुहारलाई अवसर दिए । 

वैकल्पिक बाटो हुँदै संसद्

सस्मितको राजनीतिक यात्रा परम्परागत दलको विद्यार्थी संगठनबाट सुरु भएको होइन । उनको पहिचान वैकल्पिक राजनीतिको अभियानसँगै बनेको हो । 

२०५२ साल फागुन १ गते काठमाडौंमा जन्मिएका सस्मितको प्रारम्भिक शिक्षा र प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भयो । त्यसपछि उनी नेपाल फर्किए र काठमाडौं विश्वविद्यालय स्कुल अफ लबाट बिएएलएलबी अध्ययन पूरा गरे ।

कानुन पढ्दै गर्दा नै उनी सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका थिए । अध्ययनसँगै समाज र राज्य व्यवस्थाका विषयमा चासो राख्ने युवा समूहसँग उनको संगत बढ्दै गयो ।

२०७२ सालको विनाशकारी भूकम्पका बेला उनी विदेशमै थिए । त्यो समय पनि उनी नेपालका लागि सहयोग जुटाउने अभियानमा जोडिए । विभिन्न माध्यमबाट राहत संकलन गर्ने र व्यवस्थापन गर्ने काममा उनले भूमिका खेले ।

नेपाल फर्किएपछि भने उनको राजनीतिक सक्रियता झन् स्पष्ट रूपमा देखिन थाल्यो । उनी विवेकशील अभियानसँग जोडिए । युवालाई राजनीतिमा सक्रिय बनाउने र वैकल्पिक राजनीतिको आवाज उठाउने अभियानमा उनले काम गरे । त्यही अभियान हुँदै उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यसमेत बने ।

महानगरको नीति निर्माणमा 

काठमाडौंको राजनीतिक वातावरणमा सस्मितको नाम विशेषगरी २०७९ सालको स्थानीय तह निर्वाचनपछि धेरै सुनिन थाल्यो । त्यतिबेला काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा थिए ।

सस्मित त्यतिबेला बालेनको अभियानमा सक्रिय देखिने युवामध्ये एक थिए । सडकदेखि सामाजिक सञ्जालसम्म, संगठनदेखि रणनीतिसम्म अभियानका विभिन्न तहमा उनको उपस्थिति देखिन्थ्यो । बालेन मेयरमा निर्वाचित भएपछि पनि सस्मित महानगरको काममा जोडिए ।

काठमाडौं महानगरपालिकामा उनले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञका रूपमा काम गरे । साथै सहरी योजना आयोगमा पनि सहायक विज्ञको भूमिकामा रहे । महानगरको नीति निर्माण प्रक्रियामा सहभागी हुँदै उनले वार्षिक नीति, योजना र बजेट तयारीमा योगदान दिए । पुराना कानुनी संरचना सुधार गर्ने र नयाँ नीति बनाउने काममा पनि उनी संलग्न थिए ।

शिक्षा सुधारमा ध्यान 

महानगरपालिकामा रहँदा सस्मितको ध्यान विशेषगरी शिक्षा क्षेत्रमा केन्द्रित थियो । सामुदायिक विद्यालयलाई सुदृढ बनाउने उद्देश्यले महानगरले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रमको तयारी र कार्यान्वयनमा उनी सक्रिय रहे । त्यसअन्तर्गत करिब २० हजार विद्यार्थीलाई कक्षा १ देखि १२ सम्म छात्रवृत्ति उपलब्ध गराउने योजना अघि बढाइएको थियो । शिक्षा सुधार, नीति निर्माण र प्रशासनिक अनुभवबाट उनले स्थानीय तहमा काम गरे । अब त्यही अनुभवलाई राष्ट्रिय राजनीतिमा प्रयोग गर्ने लक्ष्यसहित उनी संघीय संसद्मा प्रवेश गर्दै छन् ।

सम्बन्धित खबर