
काठमाडौं : प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको करिब दुई साता बित्न लागेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम पनि आइसक्यो । सबै राजनीतिक दलहरूको सिफरिसअनुसार निर्वाचन आयोगले समेत समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरिसकेको छ । तर, नयाँ सरकार निर्माणको फ्रेम अझै आउन सकेको छैन ।
जनादेशअनुसार नयाँ सरकारको पहिलो हकदार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार निर्माणका सन्दर्भमा गृहकार्य नै थालेको छैन । संसद्मा झन्डै दुईतिहाइ बहुमत हासिल गरेको रास्वपाले बनाउने शक्तिशाली सरकारको पर्खाइमा बसेका नागरिकले कहिले सरकार पाउँछन् भन्ने अझै टुंगो लागिनसकेको रास्वपाकै नेताहरूले बताएका छन् ।
राजनीतिक दलहरूले बुुझाएको सूचीबमोजिम निर्वाचन आयोगले समानुपातिक सूची सार्वजनिक गरेको छ । आयोगले ४ गतेभित्र राष्ट्रपतिसमक्ष समानुपातिक सांसदको सूची बुुझाउने तयारी गरेको छ । समानुपातिक सांसदको सूची पाएपछि राष्ट्रपतिले सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछन् ।
यो संसद्बाट रास्वपाको एकल सरकार बन्नेमा कुनै शंका छैन । तर, पाँच वर्षको स्थिर सरकार बन्दा उक्त सरकारमा जाने मन्त्रीहरू कति समयका लागि जाने ? कस्ता व्यक्ति पठाउने भन्ने विषयमा नेताहरूबीच कुनै गृहकार्य छैन । यद्यपि सरकार बनाउने विषयमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनबीच एक तहको सहमति भइसकेकाले धेरै छलफल जरुरी नभएको नेताहरूको भनाइ छ ।
बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभए पनि उनलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान बाधक रहेको छ । रास्वपाको विधानअनुसार संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने व्यवस्था छ । सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्य मतदाता हुन पाउनेछन् । कुल खसेको सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार संसदीय दलको नेता हुने विधानमा उल्लेख छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा बढी मत ल्याउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा गराएर दलको नेता छान्ने व्यवस्था छ ।
विधानअनुसार दलको नेता छान्ने अधिकारसमेत सांसदलाई मात्र नभई पार्टीका सबै सदस्यलाई दिइएको छ । रास्वपाले दलको नेताका लागि अहिलेसम्म मतदान गरेको छैन । तर यो व्यवस्था परिमार्जज गरेर बालेनलाई दलको नेता बनाउने रास्वपाको तयारी छ । विधान परिमार्जनको कामसमेत आन्तरिक रूपमा हुँदै गरेको नेताहरूको दाबी छ ।
नेताहरूबीच मन्त्रिपरिषद् कस्तो बनाउने भन्ने सामान्य गृहकार्य भए पनि ठोस छलफल भइनसकेको रास्वपाका उपसभापति स्वर्णिम वाग्ललेले बताए । ‘सामान्यतया हामीले प्रधानमन्त्रीको विषयमा चुनावअघि नै टुंगो लगाइसकेका छौं,’ वाग्लेले भने, ‘बाँकी मन्त्रिपरिषद्मा कसरी प्रतिनिधित्व गराउने भन्ने छलफल बाँकी नै छ । जनतालाई डेलिभरी दिने र सुशासन कायम राख्नेगरी सरकार निर्माणको खाका चाँडै तयार गर्छौं ।’ अहिले नै बाहिर हल्ला भएजस्तो सरकार गठनको अन्तिम गृहकार्य भइनसकेको उनको भनाइ छ ।
रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर गएपछि रास्वपाले सोचेभन्दा राम्रो जनमत पाएको छ । यो परिणामले रास्वपालाई शक्तिशाली सरकार बनाएर जनपक्षीय काम गर्ने मौका मिलेको नेताहरूले बताएका छन् । भावी सरकार निर्माणका सन्दर्भमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनबीच सामान्य छलफल भए पनि सघन छलफलमा जुटिसकेका छैनन् ।
सभापति लामिछाने बिरामी परेका कारण उनको स्वास्थ्यलाभ भइसकेपछि मात्रै मन्त्रिपरिषद्को विषयमा सघन छलफल हुने र टुंगोमा पुगिने नेताहरूले बताएका छन् । रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि ३ र ४ गते प्रशिक्षण आयोजना गरेको छ । त्यसपछि मात्रै सरकार निर्माणको विषयमा सघन छलफल गरेर अघि बढ्ने सांसद गणेश पराजुलीले बताए । ‘पहिलो कुरा त हाम्रो ३ र ४ गते नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको रणनीतिका सन्दर्भमा अभिमुखीकरण राखिएको छ,’ उनले भने, ‘त्यसलगत्तै शीर्ष नेताहरू बसेर सरकारका विषयमा छलफल हुनेछ ।’ रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ जना गरी १८२ सांसद लिएर संसद्मा जाँदै छ । यद्यपि रास्वपालाई दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग छ । २०७९को निर्वाचनमा रास्वपाले करिब १२ लाख मत र २१ सिटमा जित हासिल गरेको थियो । त्यसबेला गृह, शिक्षा, स्वास्थ्य श्रम र खेलकुद मन्त्रालयका अल्पकालीन जिम्मेवारी सम्हालेको थियो । योपटक भने रास्वपाले कुनै दललाई सरकार बनाउन गुहार्नु नपर्ने भएपछि मन्त्री पनि अरू दलबाट आउने सम्भावना छैन ।
पार्टीको केन्द्रीय कार्यसमितिले विधान संशोधनलाई अनुमोदन गरेपश्चात् संसदीय दलको नेतामा बालेन्द्रलाई निर्वाचित गरिने प्रवक्ता मनीष झाले बताए । सरकार निर्माण प्रक्रियागत रूपमा अघि बढाउन केही समय लाग्ने भन्दै उनले भने, ‘दलको नेता बनाउन प्रक्रियागत रूपमा अघि बढाउन केही नेताको उपस्थितिको प्रतीक्षामा छौं । स्वास्थ्य अवस्थाका कारण केही नेताको उपस्थिति कुरिरहेका छौं ।’
गत पुस १३ गते बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सातबुँदे सहमति भएको थियो । चुनावअघि बालेनलाई पार्टीमा भित्र्याउँदा भएका सहमतिका सन्दर्भमा उनले प्रतिबद्धता नबिर्सेको बताए । ‘हामी जिम्मेवार छौं, प्रतिबद्धता बिर्सेका छैनौं,’ उनले भने, ‘केही तलमाथि होला कि भन्ने आशंका नगरियोस् ।’ अब बन्ने सरकार स्थिर बन्ने भन्दै झाले काम गर्न सक्ने, योग्य र क्षमतावान् सांसदहरूलाई मन्त्री बनाइने बताए । रास्वपाले चुनावअघि संसदबाहिरबाट विज्ञलाई मन्त्रिपरिषद्मा ल्याउने घोषणा गरेको थियो । तर, अहिले त्योे अवस्था नरहेको नेताहरूले बताएका छन् । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । संविधानको धारा ७६ (८)मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बहुमतप्राप्त रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र निर्वाचित भएपछि सरकार गठनको बाटो खुला हुनेछ ।