
काठमाडौँ : कास्कीको लिचीवारीसँग सम्बन्धित घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसविरुद्ध गुप्ता सर्वोच्चमा पुगेका थिए । उक्त निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशीमा राखिएको छ ।
यसअघि सर्वोच्चले गुप्ताको निवेदनका सन्दर्भमा सम्बन्धित निकायसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरेको थियो । यस प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहित न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई अनुसन्धान अवधिभर हिरासतमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
अनुसन्धान अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ । सोही आधारमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठबीच मिलेमतो भई पदको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ ।
अदालतमा बयान दिने क्रममा गुप्ताले आफूविरुद्ध लगाइएका आरोप असत्य भएको दाबी गरेका थिए । तर प्रारम्भिक प्रमाणका आधारमा अदालतले तत्कालै निर्दोष ठहर गर्न नमिल्ने भन्दै थुनामा राख्ने आदेश दिएको हो ।