२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

संसदीय आचरण सिक्दै रास्वपा

shivam cement
जीवन शर्मा
२०८२ चैत ४ गते ०६:३०
Shares
संसदीय आचरण सिक्दै रास्वपा

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब दुईतिहाइ बहुमतसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ संसद् छिर्नुअघि सांसदहरूलाई संसदीय अभ्यास र आचरण सिकाउनमा केन्द्रित भएको छ । 

रास्वपाका नवनिर्वाचित सांसदलाई काठमाडौंमा बोलाएर पार्टीले संसदीय अभ्यासका बारेमा प्रशिक्षण दिन थालेको हो ।

मंगलबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा रास्वपाका सांसदहरू अभिमुखीकरणमा सहभागी भए । प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सिट लिएर संसद्मा जाने तयारी गरेको रास्वपामा अधिकांश सांसदहरू नयाँ छन् । अघिल्लो संसद्मा रहेका २१ सांसदमध्ये यसपटक १२ जना मात्रै दोहोरिएका छन् । बाँकी सबै नयाँ अनुहार लिएर एकल सरकार बनाउने तयारीमा रहेको रास्वपाले संसदीय अभ्यास, मर्यादा, पार्टीको नीतिलगायत विषयमा प्रशिक्षण गराउने योजनाका साथ अभिमुखीकरण राखिएको जनाएको छ ।  

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण राखिएको बताए । संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन र जनसरोकारका मुद्दालाई कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिएको उनले बताए । ‘यो प्रशिक्षणलाई रास्वपाले आफ्नो संसदीय यात्राको महत्वपूर्ण कडीका रूपमा लिएको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण महत्वपूर्ण हुनेछ ।’

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । उनको नेतृत्वमा बन्ने आगामी सरकारलाई जनहितमा काम गर्न र खबरदारी गर्ने विषयमा समेत रास्वपाका सांसदहरूले भूमिका खेल्ने नेताहरूको दाबी छ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले संसदीय लोकतन्त्रमा सरकारको कामप्रति ‘वाचडग’को भूमिका खेल्ने जिम्मा सांसदहरूकै भएको बताएका छन् । उनले भनेका छन्, ‘नयाँ सरकारको कामप्रति सांसदहरूले नजिकबाट याद गर्दै ‘वाचडग’को भूमिका खेल्नुपर्छ ।’

अघिल्लो संसद्मा २१ जना मात्रै सांसद भएकाले सोचेजस्तो डेलिभरी र डेभलपमेन्टमा काम गर्न नसकेको नेताहरूले दाबी गरेका छन् ।  यसपटक रास्वपाले भनेअनुसारको मत पाएकाले नयाँ सरकारले जनताले भनेअनुसार काम गर्नुपर्ने सहभागी सांसदहरू बताउँछन् । काठमाडौं ८ बाट निर्वाचित सांसद एवं रास्वपाका उपसभापति डिपी अर्यालले अर्को चुनावपछि संसद्मा प्रतिपक्षविहीन बनाउने लक्ष्यका साथ काम गर्नुपर्ने दायित्व रास्वपालाई आएको बताए । अभिमुखीकरण कार्यक्रममा उनले भने, ‘हाम्रा छोराछोरी देशमा सुशासन भएन, डेलिभरी भएन, भ्रष्टाचार भयो, हामीहरूलाई बस्नलायक देश बनाइदिनुप¥यो भनेर स्कुलका झोला बोकेर सडकमा निस्किए । त्यसबेला हामीहरूको संख्याले पुगेको थियो भने त्यो अवस्था आउँदैनथ्यो । अब हामीसँग पर्याप्त संख्या छ, अब जनताको मन जित्नेगरी काम गर्नुपर्ने दायित्व हामीमाथि आएको छ ।’

रास्वपाले लगनशीलता र क्षमतालाई राष्ट्र, राष्ट्रियता र नेपाली जनताका लागि सुम्पिनुपर्नेमा उनले जोड दिएका छन् । ‘यसपटकको निर्वाचनमा हामीले १८२ सिट प्राप्त गरेका छौं,’ अर्यालले भने, ‘तर, यो देशले जित्न बाँकी छ, जनताले जित्न बाँकी छ । त्यसकारण पनि आजको यो कार्यक्रम महत्वपूर्ण छ । हामीले देशले जित्नेगरी डेलिभरीमा र डेभलपमेन्टमा काम गर्नुपर्नेछ ।’ 
आन्तरिक द्वन्द्व, खिचातानी, आन्तरिक लडाइँ, खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहनसमेत उनले सांसदहरूलाई निर्देशन दिएका छन् ।  जनतालाई नयाँ सन्देश दिएर अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने अवस्था आउनेगरी काम गर्नुपर्ने उनको भनाइ छ ।  

प्रशिक्षणमा रास्वपा सांसदका विभिन्न रंगीविरंगी चित्रहरू देखिएका छन् । तर, ती सबैलाई एउटै छातामुनि राखेर देश र जनहितमा काम गर्ने वातावरण बनाउनु रास्वपाका लागि चुनौतीपूर्ण रहेको विश्लेषकहरू बताउँछन् । रास्वपाका नेताहरूले भने नवनिर्वाचित सबै सांसदले नजानेका विषयमा सिकेर व्यवहारमा कार्यान्वायन गर्न सक्ने भएकाले केही समय संसदीय अभ्यासमा काँचो लागे पनि विस्तारै पाको बन्ने विश्वास गरेका छन् ।

सम्बन्धित खबर