२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व संकलन

Nada
२०८२ चैत ४ गते ०८:२०
Shares
कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व संकलन

कैलाली : कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व संकलन गरेको हो ।

ncell

कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात करोड ५९ लाख, अन्त:शुल्कतर्फ रु १० करोड ५६ लाख र अन्यतर्फ रु एक अर्ब २१ करोड ६६ लाख राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलनगर्ने वार्षिक लक्ष्य छ । आठ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा भने पुग्न सकेको छैन । कार्यालयले साउनमा रु ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख, असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख र कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४ लाख मात्रै राजस्व संकलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

यस्तै मङ्सिर महिनामा रु ७८ करोड ३३ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु ६८ करोड ९१ लाख, पुसमा रु ८१ करोड २५ लाख लक्ष्य रहेकामा रु ७४ करोड ६५ लाख, माघमा रु ७६ करोड नौ लाख लक्ष्य रहेकामा रु ६८ करोड ८२ लाख र फागुन महिनामा रु ७७ करोड १४ लाख लक्ष्य रहेकामा रु ७६ करोड ४४ लाख मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन् । गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।

uae

सम्बन्धित खबर