
भोजपुर : हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।
सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रुपमा बसोबासमा समस्या भएको हो ।
हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पुर्याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेकिलमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। उनका अनुसार अहिले क्षतिको विवरण संकलन भइरहेको छ ।
हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएकाले विवरण संकलन भए पश्चात राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । स्थानीय तहहरुले राहत तथा विवरण संकलन गरिरहेका छन् ।