
काठमाडौँ : शंकर पोखरेलले चुनावी परिणाममा देखिने अल्पकालीन उत्साह वा ‘लहर’ले मात्रै स्थायी राजनीतिक उपलब्धि सुनिश्चित नगर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणीमा उनले एक पटकको उल्लेखनीय जितलाई दीर्घकालीन स्थायित्वसँग जोडेर हेर्न नहुने उल्लेख गरेका हुन् । वर्तमान नेपाली सन्दर्भमा चर्चित ‘बालेन लहर’लाई उदाहरणका रूपमा लिँदै उनले विगतका अन्तर्राष्ट्रिय अनुभवसँग तुलना गरेका छन् ।
भारतको सन् १९८४ को आम निर्वाचनलाई स्मरण गर्दै उनले त्यस समय राजीव गान्धी नेतृत्वको कांग्रेस (आई)ले अत्यधिक समर्थन प्राप्त गरेको उल्लेख गरे । तर त्यसपछिका चरणमा उक्त शक्ति क्रमशः कमजोर बन्दै गएको र भारतीय जनता पार्टीले बिस्तारै आफ्नो प्रभाव बढाउँदै गएको उनको विश्लेषण छ। हाल नरेन्द्र मोदीको नेतृत्वमा उक्त दल निरन्तर सत्तामा पुग्नुले दीर्घकालीन राजनीतिक सफलताको आधार फरक हुने संकेत गरेको उनले औँल्याएका छन् ।
उनका अनुसार दीर्घकालीन सफलता हासिल गर्न संगठन सुदृढीकरण, कार्यसम्पादन क्षमता र निरन्तर जनसमर्थन प्रमुख तत्त्व हुन् । केवल चुनावी माहोल वा एक पटकको विजयले राजनीतिक स्थायित्वको सुनिश्चितता दिन सक्दैन ।
नेपालको सन्दर्भमा पनि यही शिक्षा लागू हुने उल्लेख गर्दै उनले जनअपेक्षा सम्बोधन गर्ने क्षमता, संस्थागत मजबुती र समर्थनलाई निरन्तर कायम राख्ने रणनीतिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
उनले यस्तो अनुभव र विश्लेषण विजयी र पराजित दुवै पक्षका लागि मार्गदर्शक बन्न सक्ने निष्कर्षसमेत प्रस्तुत गरेका छन्।