
काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले पुराना दल र नेताले देशलाई यहाँसम्म ल्याएको र अब आफ्नो दलले अगाडि बढाउने बताएका छन् । नवनिर्वाचित सांसदलाई अनुशिक्षण दिँदै उनले पुराना दल र नेताको त्याग–तपस्यालाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गर्दै उनीहरुलाई धन्यवाद पनि दिएका छन् ।
‘इतिहास रच्नेमा एउटा नेता, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ,’ सभापति लामिछानेले भने, ‘उहाँहरूका कयौँ बेथितिप्रति हाम्रो असहमति हो। इतिहासमा उहाँहरूले दिएको योगदानलाई नजदरअन्दाज गर्ने, अपमानित गर्ने हक हामी कसैलाई छैन।’
उनले पुराना नेताहरुको योगदानको स्मरण गर्दै लामछिानेले भने, ‘इतिहास तपाईले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’
चुनाव जितेपछि आफ्ना समर्थकहरुले विपक्षी दलप्रति गरेका कटाक्ष रोक्न उनले आग्रह गरे । रास्वपाका कसैको अभिव्यक्तिमा कुनै पनि दल वा विपक्षीप्रति कटाक्ष हुन गयो भने त्यो अनर्थ हुने उल्लेख गर्दै विजयको उन्मादमा समर्थकहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति स्वीकार्य नभएको टिप्पणी पनि गरेका छन् । ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन् । कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन् । त्यो लोकतन्त्रको चरित्र होइन्’ सभापति लामिछानेले भने, ‘हामीमाथि धेरै आरोप लागेको छ । रास्वपाका समर्थक अराजक छन्, असहिष्णु छन् । सामाजिक सञ्जालमा व्यक्तिगत गालीगलौजमा उत्रिन्छन् । छुनै हुन्न, बोल्नै हुन्न, गाली गर्छन् । त्यस किसिमको छविबाट अब बाहिर निस्कनुपर्छ ।’