
सङ्खुवासभाः यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बनेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजाने अवस्था हुँदा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको जिल्ला अस्पतालका चिकित्सक डा प्रदीप श्रीवालले जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेकाले यस्ता आकस्मिक अवस्थामा हवाई उद्धार प्रभावकारी बनेको बताए ।