
काठमाडौं : पुराना राजनीतिक शक्तिलाई पछार्दै ऐतिहासिक जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ सरकार गठनका निम्ति संस्थागत गृहकार्य सुरु भइसकेको छैन । चुनावअघि नै प्रधानमन्त्रीका उम्मेदवार बनाइएका वरिष्ठ नेता बालेन पार्टीका औपचारिक बैठकमा देखिएका छैनन् ।
पार्टी बैठक होस् वा रास्वपा सांसद्हरुका लागि दिइएको दुई दिने अभिमुखीकरण, सभापति रवि लामिछाने र नेता बालेन एकैठाउँ देखिएनन् । तैपनि, उनीहरुबीच नयाँ सरकार गठनको गृहकार्य भइरहेको आमअनुमान थियो । बालेननिकट भिटेन पौडेलले त्यस्तै सन्देश सामाजिक सञ्जालमा राखेका थिए । तर, बरिष्ठ नेता बालेनले त्यसलाई खण्डित गर्दै प्रतिक्रिया दिए ।
नयाँ सरकारबारे आम चासो बढिरहेका बेला सभापति लामिछानेले गुटबन्दी र राइट टु रिकलबारे दिएको अभिव्यक्तिले केही आशंका जन्माएको छ । पार्टीको विधानमा रहेको राइट टु रिकल सम्झाउँदै अभिमुखीकरण समापनमा उनले भने, ‘दुई तिहाइ बहुमत होस् वा नहोस्, बहुमत होस् नहोस्, पार्टीले ‘राइट टु रिकल’ को व्यवस्था कडाइका साथ लागू गर्नेछ ।’ स्वतन्त्रता र अनुशासनबीचको सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ । ‘स्वतन्त्रता प्रयोग गर्न पाइन्छ, तर अनुशासनभित्र रहेर’ लामिछानेले भने ।
अभिमुखीकरण समापनमा उनले गुटबन्दीलाई महत्वका साथ उठाए । उनले गुट बनाएर एमाले र कांग्रेसलाई जित्न नसक्ने टिप्पणी गरे । ‘पुराना राजनीतिक दललाई नेपाली जनताले ३५ वर्ष कुरे । तपाईं हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्न तयार छैनन् । यो कुरा निर्धक्क हुनुहोला,’ सभापति लामिछानेले भने, ‘अब तपाईंहरूको दौड स्वार्थ समूहको घर–घरमा होइन । गुट बनाएर कांग्रेस र एमालेलाई जित्न सकिँदैन, साथीहरू । कुनै गुट बनाउन सकिँदैन । घन्टीमुनि सबै अटाउन सक्छौँ । घन्टीमा त्यतिधेरै तागत छ ।’
रविले आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसद्, सरकारमा मेरो हैसियत के हुन्छ ? जस्ता ‘म’ केन्द्रित राजनीतिबाट बाहिर निस्किन सकिएन पुराना राजनीतिक दलहरूको भन्दा पनि कमजोर अवस्था हुने पनि बताएका छन् । ‘हामी मिल्न सकेनौँ भने स्वार्थको बन्दी बन्यौँ बल्ल समस्या पर्ने हो । जिम्मेवार पदमा पुगेर पनि पुरानै शैलीबाट चल्छु भन्नुभयो भने बाहिरिन सक्नुहुन्छ,’ उनले भने, यो देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। हामीलाई फुटाउने, गिराउने, गलत गराउनेहरूको बिगबिगी छ। हामी जोगिनुपर्छ।’
मन्त्रिपरिषद्मा कसलाई पठाउने पार्टीले अहिलेसम्म निर्णय नगरेको टिप्पणी गर्दै मन्त्री बन्न मिडिया ट्रायलमा नलाग्न पनि उनले आग्रह गरे । लामिछानेले भने, ‘तपाईँको र मेरो मन्त्री–प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन।’