२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

मुस्लिम समुदायकी ‘विद्रोही’ साजिदा सिद्धिकी : एमाले दाङबाट संसद्‍मा एक्ली प्रतिनिधि

shivam cement
सपना बोहरा
२०८२ चैत ५ गते ०६:२०
Shares
मुस्लिम समुदायकी ‘विद्रोही’ साजिदा सिद्धिकी : एमाले दाङबाट संसद्‍मा एक्ली प्रतिनिधि

काठमाडौं : मुस्लिम समुदायकी छोरी साजिदा सिद्धिकी दाङबाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्दै छिन् । उनी नेकपा एमाले दाङबाट संसद्मा एक्ली प्रतिनिधि हुन् । झन्डै डेढ दशकको राजनीतिक यात्राबाट संसद् प्रवेश गदै गरेकी साजिदा प्रस्ट विचार राख्ने निडर नेतृ हुन् । 

दाङ क्षेत्र नं. २ की साजिदा एमालेको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । दाङबाटै केन्द्रीय नेताहरूले निर्वाचनमा पराजय बेहोरे पनि उनी सांसदका रूपमा आज निर्वाचन आयोगबाट प्रमाण बुझ्दै छिन् । प्रत्यक्ष राजनीतिमा आउनुअघि उनी सामाजिक क्षेत्रमा सक्रिय थिइन् । 

१२ वर्षको  सामाजिक क्षेत्रको सेवाले आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको उनी बताउँछिन् । ‘काम गर्न छाड्नुहुँदैन, आत्तिनु पनि हुँदैन,’ उनले भनिन्, ‘काम ग¥यो भने फल अवश्य पाइन्छ ।’ सामाजिक न्याय, महिला सशक्तीकरण तथा समुदायको उत्थानका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउने सिद्धिकी आफू परिपक्व भएर संसद्मा जान लागेको दाबी गर्छिन् । 

सामाजिक क्षेत्रमा प्रवेश 

सात बहिनी छोरीमध्ये माइली छोरी हुन्, साजिदा । स्कुले जीवनको सुरुआतमा उनी मदरसा पढ्दै थिइन् । ११ वर्षको उमेरमै उनको मनमा बाहिरी शिक्षा पनि लिनुपर्छ भन्ने लाग्यो । भविष्यमा बुर्का खोलेर सामाजिक क्षेत्रमा लाग्ने उनको प्रतिज्ञा थियो । उनको यो कुरा परिवारलाई स्वीकार्य भएन । चार दाजुभाइ पनि मञ्जुर भएनन् । 

त्यतिवेला दाङमा शैक्षिक जागरण चलिरहेको थियो । परिवार र समुदायमा विद्रोह गर्दै उनी पनि त्यस्ता कार्यक्रममा सहभागी हुन थालिन् । ‘त्यस्तै ११ वर्षको थिएँ होला, मलाई अन्य मानिससरह साधारण शिक्षा लिन, घुलमिल हुन मन लाग्थ्यो,’ उनले भनिन्, ‘मन रोक्न सकिनँ, सभा–जुलसमा म पुगिहाल्थेँ ।’ 

सानै उमेरमा एउटी मुस्लिम छोरीको यस्तो सक्रियता देखेपछि उनलाई जिल्ला स्तरमा खोजी हुन थाल्यो । अधिकारसम्बन्धी कार्यक्रम, गोष्ठी र सभामा उनले भाषण गर्ने अवसर पाउँदै गइन् । त्यसले उनलाई सामाजिक क्षेत्रमा स्थापित गरायो ।

आफ्नै समुदायबाट बहिष्कार

उनी सामाजिक क्षेत्रमा सक्रिय हुन थालेपछि परिवार मात्रै होइन पूरै समुदायले उनलाई बहिष्कार गर्न थाल्यो । तर, विचलित भइनन्, झनै सक्रिय हुँदै गइन् । ‘चार वर्षसम्म परिवार र समुदायले बहिष्कार ग¥यो,’ उनले विगत सम्झिँदै भनिन्, ‘मुस्लिम समुदायमा हुने कुनै क्रियाकलापमा सहभागी गराइँदैनथ्यो ।’ तर पनि लक्ष्य नछाडेको उनी बताउँछिन् । ‘म सानैबाट बोल्न डराउँथिदिनथेँ,’ उनले भनिन्, ‘सभा, कार्यक्रममा जानी–नजानी भए पनि बोल्न छाड्दिनथेँ, तर परिवार र समुदायलाई पच्दैनथ्यो ।’ 

सामाजिक क्षेत्रमा पहिचान बनाउन थालेपछि विस्तारै समुदायले स्विकार्न थालेको उनी बताउँछिन् । सिद्धिकीले सामाजिक सेवा र संगठन निर्माणबाट आफ्नो पहिचान स्थापित गरेपछि बल्ल मुस्लिम समुदायले उनलाई स्विकारेको थियो ।

आरोपितबाट ‘आइडल’

सिद्धिकीको मन अझै पनि यो आरोपले पोलिरहन्छ । मुस्लिम समुदायकी छोरी उनी आमछोरीसरह जिउन चाहन्थिन् । तर, उनले गरेको विद्रोहकै कारण दाङमा अन्य मुस्लिम समुदायकी छोरीहरूले पनि मदरसाबाहेकको शिक्षा हासिल गर्ने अवसर पाए । ‘सामाजिक मूल्य–मान्यताबारे नै उहाँहरूलाई थाहा थिएन,’ उनले भनिन्, ‘मैले आमशिक्षाको कुरा उठाउँदा उहाँहरू मदरसा मात्रै भए पुग्छ जस्तो गर्नुहुन्थ्यो ।’ 

पहिले बाहिरी शिक्षाले छोरी मान्छे बिग्रिन्छन् भन्ने समाजले आज सिद्धिकीजस्तै बन्नुपर्छ भन्न थालेका छन् । उनी समुदायकै आइडल बनेकी छिन् । साजिदाले हाल नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय उपाध्यक्षका रूपमा दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालिरहेकी छिन् ।

राजनीतिक यात्रा 

सामाजिक क्षेत्रमा सक्रिय हुँदाहुँदै उनी नेकपा एमालेको नजरमा परिन् । राजनीतिक अभियानका क्रममा उनी गाउँ–गाउँ पुगेर कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी हुँदै गइन् । सिद्धिकीले दाङ जिल्लाको विकास, सामाजिक न्याय तथा पछाडि परेका समुदायको आवाज उठाउँथिन् । झन्डै डेढ दशकको राजनीतिक यात्रामा उनले मुस्लिम समुदाय मात्रै होइन, आमनागरिकको हकहितको पक्षमा काम गर्दै आएकी छिन् । 

उनले संसद्मा आमनागरिकको मौलिक हकलाई मुख्य एजेन्डा बनाउने सोच बनाएकी छिन् । ‘मानव अधिकार, दिगो विकास र आमनागरिकको अधिकार कार्यान्वयन गराउन भूमिका खेल्नेछु,’ उनले भनिन्, ‘त्यससँगै जातजातिको सवाल, धर्म र पिछडिएका वर्गका निम्ति काम गर्ने योजना छ ।’

साथै दाङको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारीका अवसर सिर्जनाका विषयलाई पनि प्राथमिकताका साथ उठाउने उनको योजना छ । स्नातक तहको पढाइ सकेकी उनले आफू सामाजिक क्षेत्रकै विषयमा पिएचडी गर्ने योजनामा रहेको बताइन् ।

सम्बन्धित खबर