
दोहा कतार : इरानले कतारको उत्तरी तटीय क्षेत्रमा अवस्थित प्रमुख औद्योगिक क्षेत्र (ग्यास उत्पादन केन्द्र) रासलाफानमा बुधवार राति करिब साढे दश बजे आक्रमण गरेको छ ।
तेलको कुवा मानिने रासलाफान क्षेत्रमा भएको आक्रमणको घोर निन्दा गर्दै कतारको परराष्ट्र मन्त्रालयले बुधवार कतारस्थित इरानी दूतावासका सैन्य तथा सुरक्षा अधिकारीसहित कर्मचारीहरूलाई अवाञ्छित तथा अस्वीकार्य व्यक्ति घोषणा गर्दै उनीहरूलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै कतारले आफूलाई जारी युद्धबाट टाढा राख्ने प्रयास गरे पनि इरानी पक्षले निरन्तर निशाना बनाइरहेको उल्लेख गरेको छ । इरानले आफ्नो देशको सार्वभौमसत्ता र सुरक्षामाथि बारम्बार आक्रमण र हस्तक्षेप गरेको आरोप कतारले लगाएको छ । यो कदम अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २८१७ को उल्लंघनसमेत भएको कतारको भनाइ छ । इरानले प्रहार गरेका ५ वटा मिसाइल मध्ये एउटा मिसाइल उक्त क्षेत्रमा खस्दा आगलागी भई ठुलो क्षति भएको कतार ईनर्जीले जनाएको छ ।
कतारले यसअघि नागरिकको आवासीय क्षेत्र र ऊर्जा पूर्वाधारहरूलाई लक्षित नगर्न इरान लगायत सबै पक्षसँग बारम्बार आह्वान गर्दै आएको पुन: स्मरण गराएको छ । तर, पछिल्लो प्रत्यक्ष आक्रमणले कतारको संयमता र क्षेत्रीय शान्तिको प्रयासमा गम्भीर चुनौती थपेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कतारले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ बमोजिम आफ्नो रक्षा गर्ने पूर्ण अधिकार सुरक्षित राखेको स्पष्ट पारेको छ । आफ्ना नागरिक र देशको सुरक्षाका लागि कतारले आवश्यक कदम चाल्न कुनै हिचकिचाहट नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
रासलाफान क्षेत्रमा काम गर्ने स्थायी कर्मचारी, ठेकेदार, प्राविधिक, इन्जिनियर, र विभिन्न कम्पनीहरूमा काम गर्ने कामदारहरू सहित करिब १ लाख नागरिक उक्त क्षेत्रमा बसोबास गर्दछन् । आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन भने आगोसमेत नियन्त्रणमा आईसकेको छ ।