
रुपन्देही : रुपन्देहीको सियारी गाउँपालिका–२, चंठास्थित दुर्गा मोडल एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले बुधबार एक औपचारिक कार्यक्रमबीच बिदाइ गरेका छन् । आत्मीय वातावरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।
कार्यक्रममा कक्षा ९ की विद्यार्थी माया बरईको अध्यक्षता तथा सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोच सफलताको मुख्य आधार भएको उल्लेख गरे । उनले आगामी एसइई परीक्षालाई आत्मविश्वासका साथ सामना गर्न आग्रह गर्दै विद्यालयबाट हासिल गरिएको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरईले विद्यार्थीहरूलाई भावपूर्ण शुभकामना व्यक्त गर्दै बिदाइलाई अन्त्य नभई नयाँ यात्राको सुरुवातका रूपमा लिन सुझाव दिए । उनले अनुशासन, मेहनत र लक्ष्यप्रतिको दृढताले मात्र सफलता सम्भव हुने उल्लेख गर्दै चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न प्रेरित गरे । साथै, एसइई परीक्षा जीवनको महत्वपूर्ण मोड भएकाले आत्मविश्वासका साथ उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गरे ।
प्रधानाध्यापक बरईले विद्यालयले शतप्रतिशत नतिजा ल्याउने लक्ष्यसहित तयारी गरिरहेको जानकारी दिँदै एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्ने परम्परा यस वर्ष पनि निरन्तर रहने बताए । उनले समयको सदुपयोग गर्दै जिम्मेवार नागरिकका रूपमा अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बरई तथा लेखा शिक्षक केशव यादवले पनि मन्तव्य राख्दै आयोजक विद्यार्थीहरूको प्रयासको प्रशंसा गरेका थिए । शिक्षक मदन बरईको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षक प्रदीप कुमार सक्सेनाले सञ्चालन गरेका थिए ।
सो अवसरमा कक्षा १० का विद्यार्थीका अभिभावकहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । अभिभावकहरूले विद्यालयले शैक्षिक ज्ञानसँगै संस्कार र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सन्तुष्टि व्यक्त गरे ।
विद्यार्थीहरूले विद्यालयमा बिताएका स्मरणीय क्षणहरूलाई सम्झिँदै शिक्षक र साथीहरूप्रति कृतज्ञता प्रकट गरेका थिए । कार्यक्रममा प्रस्तुत नृत्य, गीत तथा नाटकले थप आकर्षण थपेको थियो । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममाअभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।