
काठमाडौंः नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएका छन् ।
बिहीबार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामको लागि सहयोग गर्ने बताए । उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताए ।
सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोठ दिए । राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाइ छ ।
नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उनले बताए । एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिए ।