२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

चैत १३ मा बालेन प्रधानमन्त्री

shivam cement
जीवन शर्मा
२०८२ चैत ६ गते ०६:२५
Shares
चैत १३ मा बालेन प्रधानमन्त्री

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा जुटेको छ । 

निर्वाचन आयोगले बिहीबार निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रियाले औपचारिकता पाएको हो । आयोगले प्रतिवेदन बुझाएसँगै अब संसद् अधिवेशन आह्वान हुने र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरू शीतलनिवास पुग्दा दरबारमार्गस्थित होटल रोयलसिंगेमा रास्वपाका शीर्ष नेताहरू सरकारको गृहकार्यमा थिए । सो बैठकले चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्रीको शपथ लिने टुंगो लगाएको छ । बैठकमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सहभागी थिए ।

उपसभापति वाग्लेले सरकार गठन प्रक्रियाबारे छलफल अघि बढेको जानकारी दिए । ‘हामीले अब सरकार गठनको प्रक्रियालाई अघि बढाउनुपर्छ भनेर छलफल प्रारम्भ गरेका छौं । अहिले आजै ठोस कुराभन्दा पनि हामी प्रारम्भमा छौं । केही दिनमा सरकारको खाका आउँछ,’ बैठकपछि उनले भने ।  

बालेन प्रधानमन्त्री नियुक्त हुनुअघि निर्वाचित सांसदहरूले शपथ लिनेछन् । संघीय संसद् सचिवालयले शपथको समय चैत १२ गते बिहान साढे ११ बजेका लागि तय गरेको छ । नेपाली कांग्रेसका वयोवृद्ध सांसद अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन् । निर्वाचन आयोगका अनुसार, निर्वाचित भएकामध्ये ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सांसद हुन् । केसीले राष्ट्रपतिसँग शपथ लिएपछि सोही दिन अन्य सदस्यलाई शपथ गराउनेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

नयाँ जनादेशबाट १८२ सिट लिएर आएको रास्वपाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बनाउनेछ । राष्ट्रपतिले सीधै रास्वपा संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । धारा ७६ (१)मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।’

यसअघि रास्वपाले संसदीय दलका नेता चयन गर्नुपर्छ । चुनावअघि नै प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन नै संसदीय दलको नेता बन्ने निश्चितजस्तै छ । रास्वपाले सांसदले शपथ लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको छ । दलको नेता बालेनलाई बनाउन रास्वपाले पार्टीको विधान परिमार्जन गरेर बाटो क्लियर गर्ने रास्वपाका प्रवक्ता मनीष झाले बताए ।  

सरकार गठनसँगै राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ९३मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपति कार्यालयले भने चैत १६ गते संघीय संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । यसको सन्देश अनौपचारिक रूपमा राजनीतिक दलहरू र संघीय संसद् सचिवालयलाई दिइसकेको छ ।

आगामी सरकारमा जनतालाई डेलिभरी दिन सक्ने, विषयगत क्षमता भएका र इमानदारीसाथ काम गर्नसक्ने सांसदलाई उचित मन्त्रालय छनोट गरेर जिम्मेवारी दिइने उपसभापति वाग्लेले बताए । यद्यपि अहिले नै कसले कुन मन्त्रालय लिने–दिने भन्ने कुनै सहमति नभएको उनी बताउँछन् । ‘जनताले अत्यन्तै विश्वास गरेका छन् । नागरिकलाई डेलिभरी दिन सक्ने, विषयगत क्षमता भएका र इमानदारीसाथ काम गर्नसक्ने सांसदलाई उचित छनोट गरेर जिम्मेवारी दिइन्छ,’ उनले भने । अब बन्ने सरकारलाई पहिलेका सरकारजस्तो जे पनि गर्ने छुट नभएकाले विषयगत विज्ञता र क्षमताका आधारमा मन्त्रालय छनोट गरेर जिम्मेवारी दिइने उनले जानकारी दिए ।     

रास्वपाले चैत ३ र ४ गते नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको भूमिकालगायत विषयमा केन्द्रित रहेर अभिमुखीकरणसमेत गरिसकेको छ । अब शीर्ष नेताहरूबीच छलफल र सहमतिका आधारमा मन्त्री चयन गर्न बाँकी रहेको नेताहरू बताउँछन् । निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठुलो दलको रूपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल रहेका छन् । पहिलोपटक चुनाव लडेर संसद्मा आएको श्रम संस्कृति पार्टी सात सिटसहित पाचौं दल बनेको छ भने राप्रपा पाँच सिटसहित छैटौं दलको रूपमा छ । स्वतन्त्र सांसदमा महावीर पुन एकजना मात्र छन् । 

सम्बन्धित खबर