
काठमाडौँ : संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ । सचिवालयले आज एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ ।
सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ ।
उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ ।
नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची-३ को ढाँचामा रहेको शपथको ब्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ-आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।