
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति/कार्ययोजना साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । आजको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने दुवै प्रस्ताव पेस गर्ने उपसभापति शर्माको तयारी छ । कांग्रेसको विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्छ ।