
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टी पंक्तिलाई आगामी १५औँ महाधिवेशनको तयारीमा सक्रिय रूपमा लाग्न आग्रह गरेका छन् ।
महामन्त्री घिमिरेले पार्टीसँग सुदृढ वैचारिक आधार, ऐतिहासिक योगदान र सक्षम नेतृत्व रहेको उल्लेख गर्दै विगतका असहमति तथा विवादलाई पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अनावश्यक बहसमा समय खर्च नगरी साझा उद्देश्यतर्फ केन्द्रित हुँदै संगठनलाई सुदृढ बनाउन आवश्यक छ ।
उनले कार्यकर्तालाई तत्कालदेखि नै एकताबद्ध भएर महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्दै पार्टीको भविष्यलाई दिशानिर्देश गर्ने अवसरका रूपमा यस प्रक्रियालाई लिनुपर्ने धारणा व्यक्त गरे । साथै, पार्टीको संस्थागत इतिहास, योगदान र नेतृत्व क्षमताले आगामी दिनमा पनि सकारात्मक दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
महामन्त्री घिमिरेले विगतका तिक्त अनुभवहरूलाई पन्छाएर सहकार्य र समन्वयमार्फत अघि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीभित्रको एकता नै संगठन सुदृढीकरणको आधार हुने बताएका छन् ।