
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो ।
विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उनले मकवानपुर गढीमा ४४ दशमलवव दुई२ मिलीमिटर वर्षा भएको जानकारी दिए ।
त्यस्तै काठमाडौंको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलीमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलीमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए । उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।
विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
आज राति र भोलिसम्म मधेश प्रदेशलगायत कोशी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ । कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।