
काठमाडौं : एभरेष्ट बैंकले आफ्नो परम्परालाई निरन्तरता दिँदै वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन र पुरातात्विक सम्पदालाई समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।
यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ राखिएको छ । यो विषय विशेषगरी १९औं शताब्दीको मध्यदेखि सुरु भएको नेपाल विकास यात्रालाई महादेशीय दृष्टिले महत्वपूर्ण मान्दै प्रस्तुत गरिएको छ ।
क्यालेन्डर अनावरण समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य प्रमुख अतिथि थिए । कार्यक्रममा बैंकका अन्य सञ्चालक र उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए ।
हाल एभरेष्ट बैंकसँग करिब १४ लाख ग्राहक छन् । यसका १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटिएमहरू देशभरि सञ्चालनमा छन् । बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङजस्ता आधुनिक सुविधा विश्वव्यापी नेटवर्कमार्फत ग्राहकलाई उपलब्ध गराइरहेको छ ।
त्यसैगरी, बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ केन्द्रमार्फत सेवा दिँदै आएको छ भने भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरेको छ ।