
काठमाडौंं : भदौ २४ को जेनजी आन्दोलनका क्रममा आगजनीमा परी गम्भीर घाइते भएकी प्राध्यापक रविलक्ष्मी चित्रकारको उपचार खर्च सरकारले नव्यहोर्ने भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालकी पत्नी चित्रकारको भारतमा भएको उपचार खर्च सरकारले नव्यहोर्ने भएको हो ।
सुरुमा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो । फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । तीन महिनाको गहन उपचारपछि उनलाई नेपाल ल्याइएको थियो । खनालका अनुसार उनको उपचारमा मासिक एक लाखको हाराहारीमा खर्च भइरहेको छ । स्वास्थ्य सुधारोन्मुख भए पनि अझै उनी चिकित्सकको निगरानीमा रहँदै आएकी छिन् ।
आफ्नै निवासमा भएको आगलागीमा परेर उनको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात काट्नुपरेको थियो । अहिले रविलक्ष्मी हात पाक्ने, फोका उठ्ने, सुन्निनेलगायत समस्या झेल्दै आएकी छन् । खनालका अनुसार पूर्ण रूपमा सञ्चो हुन अझै एक वर्ष लाग्छ ।
जबसम्म दाहिने हातलाई छुन सक्ने अवस्थामा पुर्याउन सकिँदैन, तबसम्म थेरापी गराइरहनुपर्ने उनले जानकारी दिए । ‘डेड सेलहरू फोकामार्फत निकाल्न समय लाग्दोरहेछ, राम्रो सेलहरू उत्पादन हुन पनि उत्तिकै समय लाग्छ,’ खनालले भने, ‘उनको श्वासनली नै जलेको अवस्था थियो । अझै पनि उनको आवाज आएको छैन ।’ खनालका अनुसार रविलक्ष्मी सामान्य बोल्छिन् तर उनको ‘ओरिजिनल’ आवाज अझै फर्केको छैन ।
पार्टीबाटै सहयोग नपाएको गुनासो
खनालका अनुसार चित्रकारको पहिलो चरणको उपचारमा डेढ करोडभन्दा बढी खर्च भइसकेको छ । कम्युनिस्टहरूले नै सहयोग नगरेको उनको दुखेसो छ । ‘हामी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता हौं, एकआपसमा सहयोग गर्ने भावना पहिला त असाध्यै राम्रो थियो,’ उनले भने, ‘एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना अहिले त मरिसकेछ ।’
पार्टीबाट पनि कुनै सहयोग नभएको उनले बताए । ‘केही साथीहरूले तत्काल सहयोग गरेर भारतसम्म उपचार गराउन लगियो,’ उनी भावुक हुँदै भन्छन्, ‘त्यसबाहेकको ऋण अझै थपिँदै छ, जलेको घर बनाउनेभन्दा पनि कसरी बाँच्ने भन्ने समस्या छ ।’
नेपाली समाजमा प्रधानमन्त्री भएका नेताहरूसँग करोडौंको सम्पत्ति हुन्छ भन्ने मानसिकता रहेको उनको बुझाइ छ । ‘म त्यो वर्गमा परिनँ,’ उनले भने, ‘मैले आजसम्म कसैको एक पैसा पनि तल–माथि गरेको छैन ।’ सरकार र पार्टी कसैबाट पनि सहयोग नपाएको, ऋण लिएर श्रीमतीको उपचार गराइरहेको खनाल बताउँछन् ।
ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण भएकाले कारबाहीको माग गर्दै अदालतमा मुद्दा हालेको उनले बताए । चित्रकारलाई जिउँदै आगो लगाउने काममा संलग्न रहेको आरोप लागेका बझाङको जयपृथ्वी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध १० करोड २४ लाख ५० हजार रुपैयाँबराबरको क्षतिपूर्ति भराउन माग गरिएको छ ।
विदेशको उपचारमा केही गर्न सक्दैनौं : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी जनस्वास्थ्य निर्देशिका नियम, ऐनका कारण चित्रकारको उपचारको खर्चमा कुनै सहयोग गर्न नसक्ने बताउँछन् । ‘देशमा हुने उपचारको सुविधा हुँदाहुँदै बाहिरी देश नपठाउने निर्देशिका छ,’ उनले भने, ‘कुनै मन्त्री वा मन्त्रालयको सल्लाहले उपचारका लागि बाहिर देश जानुभएको हो, उहाँले नै क्याबिनेटबाट पास गराउनुहुन्छ होला गराए पनि ।’
ऐनका कारण आफूहरू यसमा सकारात्मक हुन नसक्ने उनले बताए । कीर्तिपुर बर्न अस्पतालमा लागेको खर्चचाहिँ व्यहोर्न मिले पनि त्यसबाहेकको अन्य खर्च व्यहोर्न नमिल्ने उनी बताउँछन् । ‘नेपालमा हुने जुनसुकै उपचार, चाहे पूर्वराजा, राष्ट्रपति, प्रधानमन्त्री, नेता, प्रजाको उपचार नेपालमै गराउनुपर्छ भन्ने स्वास्थ्य मन्त्रालयको ऐनमा छ,’ उनले भने, नेपालमा उपचार सम्भव नभएको अवस्थामा भने नेसनल मेडिकल बोर्डले सिफारिस गरेको हुनुपर्छ ।’
बोर्डले पनि चित्रकारको उपचारका लागि सिफारिस नगरेको उनले बताए । ‘नेसनल बोर्डले सिफारिस गरेको भए स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने थियो,’ उनले भने, ‘चित्रकारको सिफारिस भएको छैन, मन्त्रालयमा जानकारी छैन, नियम–कानुनले दिँदैन ।’