२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

ओली-प्रचण्डले नेतृत्व नछाड्ने, गगनको राजीनामा होल्ड

shivam cement
२०८२ चैत ७ गते ०६:४५
Shares
ओली-प्रचण्डले नेतृत्व नछाड्ने, गगनको राजीनामा होल्ड

काठमाडौं : हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्यासित पराजय भोगेका पुराना राजनीतिक दलहरू यतिबेला चुनावी समीक्षामा जुटेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्यत्र भोट दिने केन्द्रीय नेता पत्ता लगाएर कारबाही गर्ने घोषणा गरेका छन् । नेकपा (एमाले)मा औपचारिक रुपमा चुनावी समीक्षा सुरु भइसकेको छैन । अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका बैठक नबसे पनि नेतृत्व परिवर्तनको बहस भने सुरु भइसकेको छ । 

प्रारम्भीक समीक्षामा दलहरुले नागरिक तहमा बढ्दो अविश्वास र जनअपेक्षाअनुसार काम गर्न नसक्नु पराजयको मुख्य कारण औल्याएका छन् । गुमेको जनविश्वास फर्काउन नयाँ रणनीतिका जानुपर्ने नेताहरुले बताइरहेका छन् । 

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत चुनावी समीक्षालाई औपचारिक रूपमा अघि बढाएको छ । सभापति थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस भएको छ । सम्भवतः आइतबारको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने छ । शुक्रबार बसेको बैठकमा उनी अनुपस्थित रहेपछि उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा छलफल भएको थियो । सहमहामन्त्री उदय शमशेर राणाका अनुसार, चुनावी नतिजाबारे देशभरबाट प्रतिवेदन आएपछि सूक्ष्म विश्लेषण गरिनेछ । 

कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले पराजयलाई अवसरका रूपमा रूपान्तरण गर्ने तयारी भइरहेको बताइन् । ‘जनताका वास्तविक समस्या र अपेक्षाको अध्ययन गरी पार्टीलाई पुनः जनतासँग जोड्ने नयाँ कार्यक्रम ल्याउँछौं,’ उनले भनिन् । अघिल्लो निर्वाचनमा ८९ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक ३८ सिटमा खुम्चिएपछि नेतृत्वमाथि नैतिक दबाब बढेको छ । तत्कालीन सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट हटाएर सुधारिएको कांग्रेसको नारा लिएर सभापति थापा चुनावमा गएका थिए । पार्टीले इतिहासकै सबैभन्दा ठूलो पराजय बेहोर्दा थापा आफै सर्लाही–४ मा पराजित हुन पुगे । संसद्मा प्रमुख प्रतिपक्ष रहे झण्डै दुई तिहाई बहुमतको रास्वपालाई खबरदारी गर्न प्रतिपक्ष आवाज पर्याप्त देखिँदैन् । तयसैले अब कांग्रेसले सदनदेखि सडकसम्म जनजीविकाका मुद्दामा सक्रिय भूमिका खेल्ने रणनीति बनाएको सहमहामन्त्री संग्रौला बताउँछिन् ।  

उपसभापति शर्माले चुनावी पराजयका २७ कारण औल्याउँदै केन्द्रीय समितिमा प्रस्ताव अघि सारेका छन् । निराशा झ्याङ्गिने मौका दिइएको र त्यसको मुख्य कारण प्रतिपक्ष स्वरलाई कमजोर पार्नु रहेको उनको ठम्याइ छ । त्यसो भनेर उनले कांग्रेस–एमाले गठबन्धनको झण्डै दुई तिहाई बहुमतको सरकारलाई संकेत गरेका हुन् । कांग्रेसको हारका पछाडि उपसभापति शर्माले ढिलासुस्तीले नागरिकमा बढेको आक्रोश र ३५ वर्षमा देशमा केही नभएको भाष्यलाई कारण देखेका छन् । त्यस्तै, श्रीलंका बन्ने त्रासको असर, ‘लोकप्रियतावाद’ को लहर नबुझ्नु र ‘एल्गोरिदम’ को ‘उपनिवेश’ बाट मुक्तिको प्रश्नदेखि  पुरानो ढाँचाले, नवीन चुनौती धान्न नसक्नु मुख्य कारण भनेका छन् । संगै प्रश्न गरेका छन्, ‘वैदेशिक रोजगारी अपराध थिएन, के अब यो अन्त्य हुन्छ ?’ 

एमाले पनि चुनावी परिणामको समीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित भएको छ । सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा फैलिएको नकारात्मक प्रचार र बाह्य प्रभावका कारण परिणाम प्रभावित भएको टिप्पणी गरे । ‘परिणामलाई स्वीकार्दै पार्टीभित्र र बाहिरका कारणहरूको विश्लेषण गरी नयाँ ढंगले जनतामाझ जाने कार्यक्रम बनाउँछौं,’ उनले भने । 

एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा पुनः उठ्न थालेको छ । जेनजी आन्दोलनपछि अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब थियो । तर, उनी ११औं महाधिवेशनबाट पुनःनिर्वाचित भएर आए । अहिले चुनावी पराजयपछि संस्थापनइतर नेताहरुले ओलीले नेतृत्व छाड्नुपर्ने बहसलाई अघि सारेका छन् । उपमहासचिव योगेश भट्टराई र पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत नेताहरुले पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् । तर, ओली निकट नेताहरूले वर्तमान अवस्थामा नेतृत्व परिवर्तनले पार्टीमा थप अस्थिरता ल्याउन सक्ने तर्क गर्दै आएका छन् । 

नेपाली कम्युनिष्ट पार्टी पनि अपेक्षाअनुसार परिणाम नआएपछि समीक्षा सुरु गरेको छ । नेता वर्षमान पुनले विचार, संगठन, नेतृत्व र कार्यशैलीमा सुधार गर्दै पुनः जनतामाझ जाने बताए । ‘हामीलाई पुरानै शक्ति ठानियो, अब जनताको विश्वास जित्न फेरि मैदानमा जान्छौं,’ उनले भने । 

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व छाड्ने संकेत देखाएका छैनन् । बरु आन्तरिक अनुशासन कडाइ गर्ने संकेत दिएका छन् । निर्वाचनमा अन्तरघात गर्ने र असहयोग गर्ने नेताहरूको पहिचान गरी कारबाही गर्ने तयारीमा नेतृत्व लागेको छ ।  केन्द्रीय समितिका, जनवर्गिय संगठनको नेतृत्व तहमा भएका र प्रदेश तथा जिल्ला तहको नेतृत्वमै रहेका ५० प्रतिशत नेताहरूले घण्टीमा भोट हालेको पाइएकाले त्यस्ता नेताहरूमाथि निर्मम भएर कारबाही गर्ने घोषणा प्रचण्डले गरिसकेका छन् । 

सम्बन्धित खबर