२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

संसदीय दलको नेता चयनको दौडमा दलहरू

shivam cement
२०८२ चैत ८ गते ०६:३०
Shares
संसदीय दलको नेता चयनको दौडमा दलहरू

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय दल बनेका ६ वटा राजनीतिक दलहरू संसदीय दलको नेता छान्ने अन्तिम तयारीमा लागेका छन् । आगामी १३ चैतमा नयाँ सरकार गठनको तयारी भइरहँदा त्यसअघि नै दलहरूले संसदीय दलको नेता छान्ने तयारी गरेका हुन् । 

संसद्को पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेकाले उनैलाई दलको नेता बनाउँदै छ । यद्यपि विधानमा प्राविधिक समस्या देखिएको छ । सो दलको विधानमा चुनावअघि नै दलको नेता चयन गर्न सबै पार्टी सदस्यले मतदान गर्नुपर्ने व्यवस्था छ । तर, संसदीय दलको नेता सांसदहरूले मात्रै छान्ने कानुनी व्यवस्था छ । 

विधानको प्रावधान संशोधन गर्ने कि ‘राजनीतिक निर्णय’ गरेर दलको नेता चयन गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो । अहिलेलाई राजनीतिक निर्णयका आधारमा बालेनलाई दलको नेता बनाउने निर्णय गरेर जाने तयारी रहेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनले भने, ‘हाम्रो विधानमा केही समस्या थियो । तर चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकिएकाले विधानभन्दा पर रहेर राजनीतिक निर्णयका आधारमा उहाँलाई दलको नेता बनाएर जाने तयारीमा छौं ।’  

संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने व्यवस्था छ । जसअनुसार रास्वपाका नेता बालेन प्रधानमन्त्री बन्दै छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले एक सय ८२ सिट जितेको छ । संसदीय दलको नेता चयन भएपछि रास्वपाले बालेनलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नेछ ।

प्रतिनिधिसभा सदस्यहरूको शपथ भने १२ चैतमा हुँदै छ । अधिकांश दलहरूले त्यसअघि नै नेता छान्ने बताएका छन् । राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई दलको नेता बनाउने तयारी गरेको छ । 

नेपाली कांग्रेसमा युवालाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहे पनि पुरानै नेता अर्जुननरसिंह केसीलाई अघि सार्ने सम्भावना बलियो छ । यद्यपि कांग्रेसले कुनै निर्णय लिइसकेको छैन । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद नरेन्द्र केरुङले दलको नेता छान्ने विषयमा पार्टीभित्र आधिकारिक छलफल नभएको बताए । सांसदको शपथपछि दलको नेता छान्ने तयारीमा रहेको उनले बताए । नेता केरुङले मध्यान्हसँग भने, ‘अर्जुननरसिंह केसीको विषयमा अनौपचारिक कुराहरू भए पनि अहिले कसलाई नेता बनाउने भन्ने निर्णय गरेका छैनौं । नयाँ परिवेशअनुसार हामीले पनि दलको नेतामा दाबी गरेका छौं ।’ 

दलको नेतामा भीष्मराज आङदेम्बेको विषयमा पनि छलफल भएको छ । उनी कांग्रेसको अघिल्लो केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री थिए । केसी र आङदेम्बे दुवैजना समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । कांग्रेसभित्र निर्वाचित सांसदहरूबाट नै दलको नेता बनाएर जान उचित हुने बहस चलेको छ । दोस्रो ठूलो दलको नेता प्रमुख प्रतिपक्षी दलको नेता समेत बन्ने भएकाले महत्वका साथ लिइएको छ । कांग्रेस यो संसद्मा ३८ सिटमा खुम्चिएको छ । 

२५ सिटसहित संसद्मा तेस्रो शक्ति बनेको नेकपा एमालेले भने वरिष्ठताका आधारमा नेता छान्ने जनाएको छ । त्यस्तो हुँदा उपाध्यक्षसमेत रहेका समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’को चर्चा छ । यद्यपि एमालेले निर्णय गरिसकेको छैन । बादलको प्रतिस्पर्धामा पुराना नेता गुरु बराल पनि अघि सरेका छन् । 

संसद्मा नेकपाको १७ सिट कायम रहँदा श्रमसंस्कृति पार्टी ७ र राप्रपा ५ सिटमा संसदमा प्रतिनिधित्व गर्दै छन् । दलको नेता छनोटसँगै संसद्को प्रमुख सचेतक र सचेतक बनाउने विषयमा समेत छलफल चलिरहेको नेताहरूले बताएका छन् । संसद्को पहिलो अधिवेशन चैत १६मा बोलाउने तयारी छ ।

सम्बन्धित खबर