२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

shivam cement
२०८२ चैत ८ गते ०९:५२
Shares
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी : शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो ।

हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

“पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ”, उनले भने, “पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुनसकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।”

तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।

यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७:०० देखि बिहान ५:०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् ।

सम्बन्धित खबर