
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने प्रक्रिया अघि बढाएको छ।
केन्द्रीय बैंकका अनुसार आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत उक्त रकम संकलन गरिनेछ । यस प्रक्रियामा प्रस्तावित ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा निर्धारण हुनेछ भने सावाँसहितको भुक्तानी तोकिएको मितिमा गरिने व्यवस्था छ ।
यो व्यवस्थामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागी हुन अनुमति दिइएको छ । सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, तोकिएको एकाइमा रकम विभाजन गरी कुल आह्वान गरिएको परिमाणसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।
संकलित रकमलाई नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने प्रावधान समेत राखिएको छ ।