
काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छन् ।
उनले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गरेकी हुन् । उनका अनुसार करिब १०० दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु भएका छन् । सो अवधिमा मन्त्रालयले समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।
नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तरराष्ट्रिय कार्यालयमा सहभागिता र कुटनीतिक भेटघाट, निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि, सेवा/सहायता सामग्री वितरण, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क प्रणाली सुदृढीकरणलगायत उपलब्धि मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।
यस अवधिमा मन्त्रालयले नीतिनिर्माण र सुधारलाई प्राथमिकता दिएको छ । मानव बेचबिखन तथा ओसारप्रसार (नियन्त्रण) (दोस्रो संशोधन)नियमावली, २०८२ को मस्यौदा तथा राष्ट्रिय बालबालिका नीति २०८० कार्यान्वयनको कार्ययोजनाको मस्यौदा तयार भएको छ ।
यसैगरी लैङ्गिक हिंसा सम्बोधन गर्न लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नुवाकोटमा बालसुधार गृह स्थापना गरिएको छ । यसैगरी भक्तपुरमा निजामती कर्मचारीका शिशुका लागि दिवा शिशु स्याहार स्थापना गर्ने निर्णय भएको छ ।
मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्बोधन गर्ने गरी सुरुवाती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एमबोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ । समाज कल्याण परिषद्को कामकारबाहीलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन ‘डिजिटल सेवा प्रवाह प्रणाली’ शुभारम्भ गरिएको छ ।
जेनजी आन्दोलनमा घाइते तथा प्रभावितहरुसँग निरन्तर छलफल भेटघाट तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तीकरणका कार्यक्रमा समेट्ने गरी प्रतिबद्धता गरिएको छ । तथ्याङ्क प्रणाली सुदृढीकरण गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग समबन्धित ७६ जिल्लाको डाटाबेस बनाइएको छ ।
प्रतिवेदनमा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यक्षेत्रका विषयमा दीर्घकालीन सुधारका लागि कानुनी सुधार गर्न लामो प्रक्रिया र समय लाग्ने समस्या उल्लेख गरेकी छन् । मन्त्रालयले छोटो अवधिमा निर्वाचन केन्द्रित रहँदै विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रत्यक्ष सेवा सुधारका लागि महत्वपूर्ण पहलहरु अघि बढाएको मन्त्री श्रेष्ठले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।