काठमाडौं : वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधाको रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा एक जनाविरूद्ध ३० लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी काठमाडौं सुकेधारा बस्ने पूर्णकुमार दाहालले दोलखाकी सरिता भुजेललाई २१ लाख रूपैयाँ खर्च लाग्ने भन्दै २० लाख १० हजार लिई वैदेशिक रोजगारमा नपठाएको विभागले बताएको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको ठगीको मुद्दामा पूर्ण कुमारले दोलखाकी भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेको विभागले बताएको छ ।
शुरूमा २१ लाख लाग्ने कागज गरेपनि २० लाख २० हजार रुपैयाँ ठगी गरेको विभागले दाबी गरेकोे छ । रकम लिएर लामो समयसम्म नपठाएपछि रकम फिर्ता र वैदेशिक रोजगार ऐन अनुसार क्षतिपूर्तिको माग गर्दै भुजेलले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।
विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र दफा ४३ विपरीतको कसुर गरेको भन्दै दाहाललाई उनले लिएको २० लाख २० हजार र त्यसको ५० प्रतिशतले हुन आउने हर्जना रकम १० लाख १० हजारसमेत गरी ३० लाख ३० हजार माग दाबी लिएको हो ।
विभागले वैदेशिक रोजगारमा व्यक्तिगतरूपमा भएको ठगीविरूद्ध मुद्दा दायरा गर्ने क्रमलाई तिव्रता दिएको छ । यसअघि विभागले युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै ठूलो परिमाणको रकम ठगी गरेको आरोपमा अर्को एक शैक्षिक कन्सल्ट्यान्सी सञ्चालक विरूद्ध ४ करोडभन्दा बढी बिगो असुलीको माग गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेकोे थियो । विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक सुजन भट्टराईविरूद्ध ४ करोडभन्दा बढी बिगो असुलीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेकोे हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies