२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी

shivam cement
२०८२ चैत ८ गते १८:४५
Shares
अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी

काठमाडौंः अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ ।  

विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झन्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जनाएको छ ।

साथै, पदयात्रा अनुमतिसम्बन्धी प्रावधान कठिनाई भएमा सहजीकरणको लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर ं९७७ ९७६१४२३६३६ को व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ । विभागबाट विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी नहुँदा एकल रुपमा पदयात्रामा जान चाहने पदयात्रीले अनिवार्य रुपमा पदयात्रा साझेदार खोज्नुपर्ने भएकाले असहज भएको र पर्यटन प्रवर्धनमा समेत असर परेको भनी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) लगायत पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाहरुबाट गुनासो प्राप्त भएको अवस्थालाई दृष्टिगत गरी एक पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गर्ने गरी चैत ८ गते विभागीय निर्णय भएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
 
यसरी पदयात्रा गर्दा अनिवार्य रुपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी शर्त निर्धारण गरिएको छ ।

साथै, एजेन्सीमार्फत एक समूहमा ठूलो सङ्ख्यामा निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एक ट्रेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानीमा असहज हुनेलगायतको अवस्थालाई मध्यनजर गरी एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात पदयात्री रहने गरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको छ । 

ताजा खबर

सम्बन्धित खबर