
काठमाडौंः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन् । तर, उनी त्यहीँबाट कांग्रेस पार्टी चलाइरहेका छन् । पार्टीभित्र पछिल्लो समय विवाद र गुटबन्दीले चर्को रूप लिएको छ । विशेष महाधिवेशनबाट संस्थापन बनेको गगन थापा नेतृत्वको कांग्रेस र पार्टीभित्र प्रतिपक्ष बन्न पुगेको शेरबहादुर देउवा समुह कांग्रेसबीचको बिबादले वारपारको स्थिति ल्याउन लागेको देखिन्छ ।
गत निर्वाचनमा नराम्रोसँग पराजित भएको कांग्रेसमा पुरानै घाउ बल्झाएर थप धुलिसात बनाउँने बाटोमा नेताहरू अघि बढेको नेताहरूले बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । यता शेरबहादुर देउवा समूहले पुरानो केन्द्रीय समिति ब्युँताउने अन्तिम तयारीमा जुटेको छन् । यो घटनाले पार्टीलाई फुटको दिशातिर लैजाने सम्भावना बढाएको राजनीतिक तहमा बहस भइरहेको छ ।
देउवा पक्षका नेताहरू गगनसँग कुनैपनि हालतमा मिलेर जाने पक्षमा देखिएका छैनन् । गगनसँग मिल्दा अपमान महसुस गरेका यी नेताहरूलाई जनताले पनि स्वीकार गर्न सक्ने अवस्था छैन । तरपनि उनीहरू यति धेरै कृतग्न भएर आफ्नो गुटको खेतिमै रमाउन चाहेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । आफूलाई लोकतान्त्रिक सिद्धान्तको मसिया ठान्ने कांग्रेसले नियमित आवधिक महाधिवेशन नगरी नेतृत्व केन्द्रित निर्णय गर्दै आएको थियो ।
त्यसविरुद्ध तत्कालिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा बहुमत महाधिवेशन प्रतिनिधिले भेला बोलाएर विशेष महाधिवेशनमार्फन नयाँ नेतृत्व चयन गरेका थिए । जुन नेतृत्व गगन समूहको हो । तर, शेरबहादुर देउवा समूहका नेताहरूले भने यसलाई स्वीकार गरेका छैनन् । यद्यपि गत चुनावमा उनीहरूले गगन थापालाई नै सभापति मानेर उनकै हस्ताक्षर भएको टिकट लिएर गएका थिए । चुनावमा टिकट लाने अनि नेतृत्व नमान्ने भन्ने कुन खालको प्रवृत्ति कांग्रेसमा भित्रिदैछ ? यो आम कार्यकर्ताले नजिकबाट नियाल्ने विषय हो ।
चुनावमा पराजयपछि पार्टीको चुनावी समीक्षा हुँदैछ । जहाँ पुरानो संस्थापनका नेताहरू छैनन् । सभापति गगन थापाले समेत चुनाव हारेपछि नैतिकताका आधारमा राजिनामा दिएर बाहिर बसेका छन् । उता देउवा समूहले विशेष महाधिवेशनको निर्णय उल्ट्याउन सर्वोच्चमा हालेको रिट विचारधीन अवस्थामा छ । तर, समानान्तर गतिविधिमा उक्त समूह सक्रिय भएपछि पार्टीभित्रको समस्या थप जटिल बन्दै गएको छ । पूर्व सभापति देउवाले सिंगापुर र हङकङबाटै काठमाडौंको कांग्रेस चलाएको गगन पक्षका नेताहरूले टिप्पणी गरेका छन् ।
गगन थापा समूहले पनि पुराना नेताहरूलाई अपमान गरेर पार्टीबाट गलहत्याएको आरोप खेप्दै आएका छन् । आफू हारेर पार्टीलाई समेत चुनाव जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका गगन केन्द्रीय समितिको बैठकमा आएका छैनन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा भने अस्वीकृत गर्ने बताएको छ । तर, पछिल्लो पटक देउवा समूहका पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महतेलगायत नेताहरूले पार्टीको पुरानै केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल गरिसकेका छन् । उनीहरूको यो प्रवृत्तिले कांग्रेसलाई अझै धुलिसात बनाउन चाहेको देखिन्छ ।