
काठमाडौंः जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिएका हुन् । मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्यूनीकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताए । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पुर्याइरहेको उल्लेख गर्दै उनले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।
प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।
विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उनले बताए । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ सुरु गरिएको उनले बताए । सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताए । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ (निर्णय सहयोग प्रणाली) बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।