
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच स्थानीय तहबाटै करदाता सेवा प्रवाह गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सहमतिसँगै अब गाउँपालिकाबाटै विभिन्न करसम्बन्धी सेवा उपलब्ध हुने भएका छन् ।
नेपाल सरकारको नीतिअनुसार स्थानीय तहलाई सेवा प्रवाहमा सशक्त बनाउने उद्देश्यले गरिएको यस समझदारीपछि व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्ने, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्ने, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउनेलगायतका सेवा हेलम्बु गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ ।

हालसम्म यस्ता सेवाका लागि सेवाग्राहीहरू धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै अब स्थानीय करदाताले आफ्नै पालिकाबाट सेवा लिन सक्ने भएकाले समय, खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ ।
सम्झौतापछि सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउन दुवै निकायबीच आवश्यक प्राविधिक समन्वय, सूचना आदान–प्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य गरिने बताइएको छ । स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा करदाताको पहुँच बढ्नुका साथै राजस्व प्रशासनसमेत थप व्यवस्थित हुने विश्वास गरिएको छ ।


