
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य मुद्दा नै हो, हिन्दु अधिराज्य । तर, सोही पार्टीबाट मुस्लिम समुदायका ताहिर अलीले संसद्मा प्रतिनिधित्व गर्दै छन् । तीन दशकको जागिरे जीवन, समाजसेवा र राजनीतिमा सक्रिय रहँदै आएका रुपन्देहीको रोहिणी गाउँपालिका–३ का अलीलाई राप्रपाले समानुपातिकतर्फको मुस्लिम क्लस्टरबाट प्रतिनिधिसभा सदस्यमा पठाएको हो ।
धर्मका विषयमा अलीको सोच फराकिलो छ । उनी हिन्दु र मुस्लिमबीचको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्ने बताउँछन् । हिन्दु राज्य र राजसंस्थाको पक्षपाती राप्रपाबाट समानुपातिक सांसद बनेका अली नेपालका राजाले नै मुस्लिमहरूलाई नेपालमा स्थापित गरेको बताउँछन् । भन्छन्, ‘राजाले आफनो दरबारअगाडि मुस्लिमहरूको मस्जिद बनाइदिनुभएको छ, हामीलाई हिन्दु राज्य भयो भने कुनै आपत्ति हुँदैन ।’
हिन्दु राष्ट्र आयो भने मुसलमानलाई कुनै दुःख नहुने अलीको बुझाइ छ । मुस्लिमहरूले पनि हिन्दु राज्य चाहेको उनी बताउँछन् । राप्रपालाई मुस्लिम समुदायले सबैभन्दा बढी बुझेको दाबी गर्दै उनी भन्छन्, ‘रुपन्देहीमा मुस्लिम समुदायले नै राप्रपालाई बढी भोट दिएको छ, ‘ए हजुर ! सबैभन्दा बढी मुस्लिम समुदायले बुझेका छन्, यहाँ हिन्दु र मुस्लिम नङ र मासुजस्तो भएर बस्नुपर्छ ।’
राप्रपाका नेताहरूसँग उनको सम्बन्ध २०३८ सालदेखि जोडिएको हो । त्यसवेला उनको पञ्चायतका नेता दीपक बोहरासँग भेट भएको थियो । अली विद्यार्थी राजनीतिमा हुँदा बोहराका समर्थक थिए । उनले भने, ‘२०३८ सालमा म ११ वर्षको थिएँ, राम–नरेश आदर्श माध्यमिक विद्यालयमा पढ्दै थिएँ, त्यही समयमा नेता बोहरासँग भेट भएको थियो ।’
उमेरले ६३ वर्ष पुगेका अलीले पार्टीको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । उनी पार्टीको लुम्बिनी प्रदेशका सहायक महामन्त्री पनि हुन् । ‘राप्रपा सबैभन्दा जनताको पार्टी हो, यहाँ सबैको न्याय हुन्छ,’ उनले भने, ‘राष्ट्रियतासँग जोडिएको पार्टी हो, जनताको एउटा पार्टी हो ।’
देशमा ८५ प्रतिशत हिन्दु रहेकाले हिन्दु राज्य बनाउनुपर्ने उनको भनाइ छ । ‘हिन्दु राज्य भयो भने मुस्लिम, इसाइ, सिख, बुद्धिष्ट सबैलाई मिलाएर लग्छन्,’ उनले भने, ‘पहिचानका लागि मात्र हिन्दु राष्ट्र राख्ने हो ।’
हिन्दु राष्ट्र राखे मात्रै देशमा सद्भाव कायम हुने उनको बुझाइ छ । ‘नेपालमा धार्मिक सहिष्णुता तथा सामाजिक एकता हुनुपर्छ भन्ने भावनाले नै मुस्लिम परिवारमा जन्मे पनि हिन्दु धर्म कायम रहनुपर्छ भन्ने मान्यता राख्ने पार्टीमा आबद्ध छु,’ उनले भने ।
संसद्मा गएपछि पनि हिन्दु राष्ट्रको पक्षमा बोल्ने उनी बताउँछन् । ‘हिन्दु–मुस्लिम सबै मिलेर बस्नुपर्छ,’ उनले भने, ‘गीता र कुरानको सार एउटै हो ।’
रुपन्देही जिल्ला किसानहरूको जिल्ला भएकाले संसद्मा उनीहरूको मुद्दा उठाउने अलीको सोच छ । मल र उन्नत जातका बीउविजनको सुपथ मूल्यका लागि पहल गर्ने उनी बताउँछन् । किसानले राम्रो उत्पादन गर्न सकून् र उनीहरूको उब्जनी खेर नजाओस् भन्नेमा अली सचेत छन् ।
हरेक गरिबका बच्चाले आफ्नै ठाउँमा बसेर डाक्टर, इन्जिनियर पढ्न पाउनुपर्ने उनको भनाइ छ । बिग्रेका सडक निर्माणका लागि पनि आफूले पहल गर्ने उनले बताए । पढाइ, दबाइ, कमाइ यी तीन चिज जनताले निर्विवाद रूपमा पाउनुपर्नेमा उनको जोड छ ।