
काठमाडौं : नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । चैत २ देखि ८ गतेसम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेश प्रदेशका एक हजार ३८१, बागमती प्रदेशका दुई हजार ६०८, गण्डकी प्रदेशका एक हजार २७८, लुम्बिनी प्रदेशका एक हजार ३३८, कर्णाली प्रदेशका एक हजार ५०४ र सुदूरपश्चिम प्रदेशका ९१४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।