
काठमाडौं : पाँचौं राष्ट्रिय लुघवित्त सदस्य सम्मेलन २०८२ नौबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चैत ८ र ९ गरी दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा ‘उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं’ भन्ने मूल नारालाई आत्मसात् गर्दै देशको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने दृढ संकल्प व्यक्त गरेको छ । यसका लागि लघुवित्त संस्था एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूले विद्यालयस्तरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलगायत युवाहरूलाई स्वरोजगार सिर्जना गर्नेखालका आय तथा सीपमूलक तालिम, व्यावसायिक परामर्श र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने संकल्प गरेको छ ।
लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाका कर्मचारीहरूले सदस्यहरूसँग गर्ने व्यवहारलाई थप मर्यादित, पारदर्शी र सम्मानजनक बनाउने र सेवा प्रवाहलाई सदस्यकेन्द्रित र जिम्मेवार बनाउने संकल्प गरिएको छ । यस्तै वातावरणमैत्री, उद्यमशील र स्वावलम्बी समाज निर्माणका लागि हरित वित्तीय कार्यक्रममा युवा शक्तिलाई परिचालन गर्ने र युवाहरूको तीन शून्य क्लब (शून्य गरिबी, शून्य बेरोजगारी, शून्य खुद कार्बन उत्सर्जन) अभियानलाई व्यापक रूपमा प्रवर्धन गर्ने उल्लेख छ ।
जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै प्रत्येक लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माण गर्न पहल गर्ने तथा हरित उद्यम र दिगो उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
सम्मेलनले विगतका अमूल्य अनुभव, सिकाइ र उपलब्धिलाई आत्मसात् गर्दै वर्तमान लघुवित्त क्षेत्रले सामना गरिरहेको चुनौती, अवसर र आवश्यकतामाथि गहन समीक्षा गरेको थियो । सम्मेलनमा सहभागी लघुवित्त सदस्य, कर्मचारी, व्यवस्थापक तथा सरोकारवालाहरूले गरिबी, बेरोजगारी र वातावरणीय असन्तुलनजस्ता साझा समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनुशासित, स्वावलम्बी, स्वाभिमानी र उद्यमशील समाज निर्माण गर्नमा घोषणापत्र महत्वपूर्ण हुने बताए । नेपालमा लघुवित्तको सफल अभ्यास मार्फत लाखौं विपन्न परिवारलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरताको मार्गमा अग्रसर गराउने राष्ट्रका रूपमा विश्व समुदायमा परिचित हुँदै गएको सहभागीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले लघुवित्तको माध्यमबाट नेपाली समाजमा आएको सकारात्मक परिवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको प्रशंसा गरे । उनले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू मुख्यतया नाफा कमाउने उद्देश्यले सञ्चालित हुने भएकाले ती संस्थाहरूले विपन्न परिवारको घरदैलोमा पुगेर सेवा दिन नसक्ने बताए । कुनै पनि नेपाली अभावमा रहन नपरोस् र उनीहरूसँग भएको सिप खेर जान नपाओस् भन्ने उद्देश्यले लघुवित्तले विपन्न वर्गको आवश्यकता पूरा गर्न काम गरिरहेको उनले उल्लेख गरे । लघुवित्तका सकारात्मक पक्षहरूसँगै यसका चुनौतीहरूप्रति पनि पूर्वगभर्नर क्षेत्रीले सचेत गराए ।
यससँगै राष्ट्र बैंकका अर्का पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले हाल लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जा मुख्य चुनौतीको रूपमा देखिएको बताए । करिब ५० वटा लघुवित्त संस्थामार्फत ६४ लाख परिवारलाई समेटिएको यस क्षेत्रमा निष्क्रिय कर्जा ८ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांक छ ।