२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नेता महर

himalayanlife
२०८२ चैत १० गते १२:२३
Shares
पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नेता महर

चितवन : नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित 'भेटघाट तथा विमर्श' कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको 'सर्वाङ्गीण शक्ति' का रूपमा व्याख्या गरे ।

बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता महरले सोही एकताको जगमा उभिएर आज झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्ने बताए । उनले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्रका विविध विचार तथा दृष्टिकोणहरूलाई उच्चतम सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औंल्याए । विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे ।

विगतका गुटगत किचलो र आन्तरिक शक्ति संघर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा 'एकताबद्ध कांग्रेस' का लागि मात्र केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । आगामी महाधिवेशनमार्फत पार्टीको सांगठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह-पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए । लोकतन्त्रको रक्षा र देशको सामाजिक-आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैंभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने धारणा राख्दै उनले पार्टी र राष्ट्रको हितलाई केन्द्रमा राखेर सबैले व्यक्तिगत कुन्ठा त्याग्नुपर्ने अपरिहार्यता रहेको समेत बताएका छन् । त्यसका लागि देशभरका सबै लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने महरले बताए । 

'हामी सबैका कुण्ठा, आवेग, हिजो अतिरञ्जनापूर्ण अभिव्यक्ति, नियमित र विशेष महाधिवेनका नाममा विभक्त सबैले पार्टी निर्माणका लागि १५औं महाधिवेशनमा सबैको साझा पार्टी निर्माण गरेर अगाडि बढ्ने अभियानमा लागौं। त्यसरी अगाडि बढ्न सकेनौं भने नेपाल र कांग्रेसको इतिहास जोगाउन चुक्ने छौं', उनले भने ।

ताजा खबर

सम्बन्धित खबर