२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

संघीय संसद् भवन निर्माण अवधि पुनः विस्तार, प्रगति ९५ प्रतिशत दाबी

himalayanlife
२०८२ चैत १० गते १२:३६
Shares
संघीय संसद् भवन निर्माण अवधि पुनः विस्तार, प्रगति ९५ प्रतिशत दाबी

काठमाडौँ : सिंहदरबार परिसरअन्तर्गत पुतली बगैँचामा निर्माण भइरहेको संघीय संसद् भवनको निर्माण अवधि फेरि बढाइएको छ । यसअघि तोकिएको पाँचौँ पटकको समयसीमा समाप्त भएपछि सहरी विकास तथा भवन निर्माण विभागले थप ९० दिनको अवधि प्रदान गरेको हो, जुन फागुन महिनादेखि लागू हुने बताइएको छ ।

विभागका अनुसार निर्माण कार्य समग्रमा अन्तिम चरणतर्फ उन्मुख भए पनि अझै पूर्णता प्राप्त गर्न बाँकी रहेको छ। प्रवक्ता रोशन श्रेष्ठका अनुसार परियोजनाको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ९० प्रतिशत आसपास रहेको छ । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७६ असोज १ गते शिलान्यास गरिएको उक्त आयोजना सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

हाल प्रतिनिधि सभा कक्ष तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ । अस्थायी रूपमा शपथग्रहण तथा आवश्यक परे बैठक सञ्चालन गर्न मिल्ने गरी बहुउद्देश्यीय हलमा अडियो–भिडियो सुविधा जडान गरिएको छ ।

निर्माणस्थलमा तीन सिफ्टमा काम सञ्चालन भइरहेको र दैनिक करिब चार सय कामदार संलग्न रहेको विभागले जनाएको छ । संरचनागत (सिभिल) काम प्राय: सम्पन्न भइसकेको र आन्तरिक साजसज्जा तथा अन्तिम परिष्करणका काम बाँकी रहेको उल्लेख गरिएको छ । निर्धारित थप अवधिभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको र ढिलाइ भएमा जरिवानासम्बन्धी प्रावधान लागू हुने जनाइएको छ ।

टुदी सेप जेभीले करिब पाँच अर्ब ३९ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको यो भवन १५१ रोपनी क्षेत्रफलमा फैलिएको छ । परियोजनाअन्तर्गत आठ ब्लक र १२ वटा छुट्टाछुट्टै संरचना समावेश छन् । चार सय सिट क्षमताको प्रतिनिधिसभा र एक सय सिट क्षमताको राष्ट्रिय सभा कक्ष निर्माणाधीन छन्, जसबीच मुख्य प्रवेशद्वार रहने संरचना तयार हुँदै छ ।

यससँगै संसदीय दलका कार्यालय, समिति कक्ष, संसद् सचिवालयका भवन, पुस्तकालय, संग्रहालय, चमेना गृह, विशिष्ट व्यक्तिका लागि छुट्टै आवासीय संरचना, पार्किङ तथा सुरक्षा व्यवस्थाका पूर्वाधारहरू पनि समेटिनेछन् ।

राष्ट्रिय महत्वको यस आयोजनामा भूकम्पीय सुरक्षालाई ध्यानमा राखी संरचनात्मक, वास्तुकला, विद्युतीय तथा स्यानिटरी पक्ष समायोजन गरिएको जनाइएको छ । राष्ट्रिय भवन संहिताअनुसार निर्माण भइरहेको भवनमा नेपाली मौलिकता झल्किनेगरी मल्लकालीन वास्तुकलाको प्रभाव समावेश गरिएको सम्बन्धित आयोजना कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर