
काठमाडौं : महिला उद्यमी महासंघ नेपालले महिला उद्यमी व्यापार मेला गर्ने भएको छ । महासंघले आगामी चैत २० गतेदेखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा ९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला गर्ने भएको हो ।
महासंघले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ । यस वर्षको मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि उद्देश्य छ । महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरेको छ । ६ हजारभन्दा बढी महिला उद्यमी यसमा आबद्ध भएका छन् ।
साथै, करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही हुने बताईएको छ । मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीको सहभागिता रहनेछ ।
यस मेलाले महिला उद्यमीलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटविर्कङ र व्यापारिक सहकार्यको अवसर प्रदान गर्नेछ ।
मेलामा जम्मा १ सय ४० वटा स्टल रहनेछन् । मेलामा हस्तकलाका सामानहरू जस्तैः प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामान, गलैँचा, कागजका हातेसामान जैविक खाद्यपदार्थ, स्वदेशी रैथाने परिकार, कृषिजन्य उत्पादन, जडीबुटीका सामान, विभिन्न मूर्ति, गरगहना सजावटका सामान र अन्य विभिन्न सेवाप्रदायक संस्थाका स्टलहरू आर्कषक ढंगले प्रदर्शनीमा राखिनेछ । मेलाले महिला उद्यमीका सीप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ ।