
काठमाडौ : ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरे ।
समझदारीअनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गर्नेछ । साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रा÷छात्रको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी छ ।
हस्ताक्षर समारोहमा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । उनले भने, ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा पुर्याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ— हामी जहाँ व्यापार गर्छौं, जहाँबाट नाफा कमाउँछौं, त्यही समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’
उनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा वेलावेलामा आइपर्ने विभिन्न दैवी प्रकोपमा उद्धार तथा राहतमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताए । ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।