
काठमाडौ : नेपाल टेलिकमको मोबाइल प्रयोग गरी अबदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता भएको हो ।
यो सेवा क्यानडा, अमेरिका, अस्ट्रेलिया, लक्जमबर्ग, इजरायल र ताइवान–आरओसीमा यसअघि नै उपलब्ध छ । अबदेखि यो सेवा विभिन्न ८ देशमा प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ । विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ ।
अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । भोल्टी अर्थात् भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ । आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ ।