२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

एमालेको गढ भत्काएर संसद् पुगेका बदन

himalayanlife
भावना पाठक
२०८२ चैत ११ गते ०६:२०
Shares
एमालेको गढ भत्काएर संसद् पुगेका बदन

काठमाडौं : काभ्रेपलान्चोक क्षेत्र नम्बर–२ लाई यसअघि एमालेबाहेक अरूलाई असहज हुने क्षेत्रका रूपमा हेरिन्थ्यो । एमाले नेता गोकुल बाँस्कोटाले लगातार जित्दै आइरहेको क्षेत्र हो यो । भर्खरै सम्पन्न निर्वाचनमा भने रास्वपाका उम्मेदवार बदन भण्डारीले यो रेकर्ड तोडे । एमालेबाट बाँस्कोटाले टिकट नपाउनु पनि पनि उनको जितको मुख्य कारण बन्यो । २४ प्रतिस्पर्धीलाई उछिनेर विजेता बनेका उनले निकटतम प्रतिस्पर्धीले भन्दा ३५ हजार बढी मत ल्याए । ५३ हजार तीन सय ४४ मत ल्याएर विजयी भएका उनी प्रतिनिधिसभा निर्वाचन २०८२मा सर्वाधिक मत ल्याउने उम्मेदवारमध्येका एक हुन् । 

गोकुल बाँस्कोटाले टिकट पाएको भए मतान्तर कम हुने भण्डारीको बुझाइ छ । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका ३३ वर्षीय बदन पहिले एमाले र पछि एकीकृत समाजवादी पार्टी हुँदै रास्वपामा आबद्ध भएका हुन् । पुरानै ढर्राको राजनीतिबाट वाक्क भएकाले जनताको भावना बुझेर केही नयाँ गर्नुपर्छ भनेर लागेको उनी बताउँछन् । रास्वपामा युवाको सपना समेट्न सक्ने क्षमता देखेको उनको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला सचिवको जिम्मेवारीमा रहेर काम गरेका उनले निर्वाचनका लागि टिकट पाएपछि रास्वपा काभ्रेमा आन्तरिक मनमुटाव भयो । अघिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका दिनेश हुमागाईंले पार्टी नै परित्याग गरे । पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भनेर विरोध नभएको हैन । तर पार्टीले सोचेर र बुझेर नै आफूलाई टिकट दिएको भण्डारी बताउँछन् । 

काभ्रेका जनताले पहिलेदेखि नै चिनेका र बुझेका एमालेका अशोककुमार ब्याञ्जु, कांग्रेसका मधु आचार्य र नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईंसँग उनको मुख्य प्रतिस्पर्धा थियो । ब्याञ्जु त धुलिखेल नगरपालिकाको मेयर नै थिए ।  कार्यकाल बीचमै छोडेर उनी निर्वाचनमा होमिएका थिए । आचार्य कांग्रेसका पुराना नेता हुन् भने हुमागाईं प्रदेश सांसद भइसकेका नेता हुन् । 

यी सबैसँगको प्रतिस्पर्धामा भण्डारी केही नयाँ थिए । सुरुमा उनको बारेमा केही संशय भए पनि पछि विस्तारै माहोल आफ्नो पक्षमा बनाए । आफूले फजुल खचबिर्ना चुनाव जितेको उनको दाबी छ । उनी भन्छन्, ‘मतदाताहरूमा चरम निराशा छ, यो निराशालाई आशामा बदलेर देश परिवर्तन गर्नु छ ।’ देश परिवर्तन गर्ने कुरा त छ, तर सुरु कहाँबाट गर्ने भन्ने प्रश्नले उनलाई पनि छाडेको छैन । यसलाई चुनौतीका रूपमा लिएको उनी बताउँछन् ।

निर्वाचित भएको केही दिनमा नै उनले सामाजिक सञ्जाल फेसबुकमा २० बुँदाको एउटा स्टाटस पोस्ट गरे । जहाँ उनले आफूले के गर्ने हैन, के नगर्ने भन्ने कुरा उल्लेख गरेका थिए । २० बुँदाको सार थियो, ‘अनियमित कामका लागि मलाई सम्पर्क नगर्नू ।’ भनसुनका आधारमा कुनै काम नगर्ने उनको प्रतिबद्धता छ । उनी सुशासनको कुरा मात्र गरेर नहुने, आफैंबाट सुरुवात गर्नुपर्छ भन्नेमा दृढ रहेको भण्डारी बताउँछन् ।

निर्वाचनको केहीअघि उनीमाथि काठमाडौंको कपनमा आक्रमण भएको थियो । घाइते अवस्थामा भागेर घर पुग्दा कलिला दुई बच्चा, श्रीमती र आमाको आँखामा देखेको भयले अहिले पनि उनलाई झस्काउँछ । राजनीतिमा नलाग्न परिवारका सदस्यले उनलाई सम्झाएका पनि थिए । तर, देश बनाउने अभियानमा लागिसकेकाले यस्ता झिनामसिना घटनालाई आफूले सामान्य मानेको उनी बताउँछन् । रवि–बालेनको सहकार्यले नै देशको मुहार फेरिनेमा उनी ढुक्क छन् र यो अभियानमा जोडिन पाउँदा गर्व गर्छन् । 

पाँच नगरपालिका र दुई गाउँपालिका रहेको काभ्रे–२मा ६६ वटा वडा छन् । भौगोलिक हिसाबले सुगम रहेका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर यही क्षेत्रमा पर्छन् । यी ठाउँमा विकासभन्दा पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको बुझाइ छ । काभ्रेको दुःख बनेपाको डुबान र धुलिखेल–खावा सडकको पहिरो हो । डुबानको समस्या कहिले सकिन्छ थाहा छैन, तर खावा सडकखण्ड मर्मतको अन्तिम चरणमा छ । बरु उनको आफ्नै ठाउँ भुम्लु भौगोलिक हिसाबले तुलनात्मक रूपमा विकट छ ।

संघीय सांसद भएकाले विधिविधान निर्माण र कार्यान्वयनमा त उनको भूमिका रहन्छ नै, त्यससँगै आफ्नो क्षेत्रमा देखिएको जटिलता, अनियमिततामा खबरदारीका साथै आवश्यक समन्वयन गर्नुपर्ने उनको कार्यभार हो । काठमाडौंलाई लगभग धान्न सक्ने तरकारी उत्पादन गर्न सक्ने काभ्रे पछिलो समय किसानका समस्याले सुस्ताएको छ । काभ्रेका तरकारी किसानको समस्या समाधानको पहल गर्ने पहिलो काम हुने उनले बताएका छन् । धार्मिक पर्यटनका लागि पलान्चोक भगवती, चण्डेश्वरी, भीमसेन थान, पनौती, नालाजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्ने उनको योजना छ ।

सम्बन्धित खबर