
काठमाडौं : काभ्रेपलान्चोक क्षेत्र नम्बर–२ लाई यसअघि एमालेबाहेक अरूलाई असहज हुने क्षेत्रका रूपमा हेरिन्थ्यो । एमाले नेता गोकुल बाँस्कोटाले लगातार जित्दै आइरहेको क्षेत्र हो यो । भर्खरै सम्पन्न निर्वाचनमा भने रास्वपाका उम्मेदवार बदन भण्डारीले यो रेकर्ड तोडे । एमालेबाट बाँस्कोटाले टिकट नपाउँदा उनलाई जित्न केही सहज भयो । बाँस्कोटाले टिकट पाएको भए मतान्तर कम हुने भण्डारीको बुझाइ छ ।
२४ प्रतिस्पर्धीलाई उछिनेर विजेता बनेका उनले निकटतम प्रतिस्पर्धीले भन्दा ३५ हजार बढी मत ल्याए । ५३ हजार तीन सय ४४ मत ल्याएर विजयी भएका उनी प्रतिनिधिसभा निर्वाचन २०८२ मा सर्वाधिक मत ल्याउने उम्मेदवारमध्येका एक हुन् ।
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका ३३ वर्षीय बदन पहिले एमाले र पछि एकीकृत समाजवादी पार्टी हुँदै रास्वपामा आबद्ध भएका हुन् । पुरानै ढर्राको राजनीतिबाट वाक्क भएकाले जनताको भावना बुझेर केही नयाँ गर्नुपर्छ भनेर लागेको उनी बताउँछन् । रास्वपामा युवाको सपना समेट्न सक्ने क्षमता देखेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला सचिवको जिम्मेवारीमा रहेर काम गरेका उनले निर्वाचनका लागि टिकट पाएपछि रास्वपा काभ्रेमा आन्तरिक मनमुटाव भयो । अघिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका दिनेश हुमागाईंले पार्टी नै परित्याग गरे । पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भनेर विरोध नभएको हैन तर पार्टीले सोचेर र बुझेर नै आफूलाई टिकट दिएको भण्डारी बताउँछन् ।
काभ्रेका जनताले पहिले देखि नै चिनेका र बुझेका एमालेका अशोककुमार ब्याञ्जु, कांग्रेसका मधु आचार्य र नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा हुमागाईंसँग उनको मुख्य प्रतिस्पर्धा थियो । ब्याञ्जु त धुलिखेल नगरपालिकाका मेयरसमेत हुन् । कार्यकाल बिचमै छोडेर उनी निर्वाचनमा होमिएका थिए । आचार्य कांग्रेसका पुराना नेता हुन् भने हुमागाईं प्रदेश सांसद भइसकेका नेता हुन् ।
यी सबैसँगको प्रतिष्पर्धामा भण्डारी केही नयाँ थिए । सुरुमा उनका बारेमा केही संशय भए पनि पछि विस्तारै उनले माहोल आफ्नो पक्षमा बनाए । उनी फजुल खर्चबिना चुनाव जितेको दाबी गर्छन् । यसलाई उनले चुनौतीका रूपमा लिएको बताउँछन् । उनी भन्छन्, ‘मतदाताहरूमा चरम निराशा छ, यो निराशालाई आशामा बदलेर देश परिवर्तन गर्नु छ ।’ देश परिवर्तन गर्ने कुरा त छ, तर सुरु कहाँबाट गर्ने भन्ने प्रश्नले उनलाई पनि छोडेको छैन ।
निर्वाचित भएको केही दिनमा नै उनले सामाजिक सञ्जाल फेसबुकमा २० बुँदाको एउटा स्टाटस पोस्ट गरे । जहाँ उनले आफूले के गर्ने हैन, के नगर्ने भन्ने कुरा उल्लेख गरेका थिए । त्यो २० बुँदाको सार थियो ‘अनियमितताका लागि आफूलाई सम्पर्क नगर्नू ।’ उनले भनसुनका आधारमा कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् । उनी सुशासनको कुरा गरेरमात्र हुँदैन सुरुवात आफैंबाट गर्नुपर्छ भन्नेमा विश्वास राख्ने बताउँछन् ।
निर्वाचनभन्दा केहीसमय अगाडि उनीमाथि काठमाडौँको कपनमा आक्रमण भयो । आक्रमणपछि घाइते अवस्थामा भागेर घर पुग्दा कलिला दुई बच्चा, श्रीमती र आमाको आँखामा देखेको डरले अहिले पनि उनलाई झस्काउँछ । राजनीतिमा नलाग्न परिवारका सदस्यले उनलाई सम्झाएका पनि थिए तर देश बनाउने कुरामा आएका यस्ता झिना – मसिना कुरालाई उनले सामान्य माने । देश बनाउँछु बनेर हिँडेको मान्छेलाई उनी ज्यानै दिन सक्ने बताउँछन् ।
रवि लामिछानेलाई उनी युगले मागेको नेता मान्छन् । अहिले बालेन्द्र साह पनि थपिएका छन् । रवि–बालेनको सहकार्यले नै देशको मुहार फेरिनेमा ढुक्क उनी यो अभियानमा जोडिन पाउँदा गर्व गर्छन् । उनी युवा बेइमान हुनु हुँदैन भन्ने तर्क राख्छन् । परिवर्तनको उद्घोष गरेर आएको पार्टीलाई सहयोग नगर्दा आफू बेइमान भइने उनको बुझाइ छ ।
उनी भदौ २३ र २४ पछि देशले जुन मोड लियो त्यो बर्षौंदेखिको कुण्ठा भएको बताउँछन् । उनी भन्छन्, ‘हुनुपर्ने कुरा पनि भए, नहुनुपर्ने कुरा पनि भए, कतिपय कुरा सीमा बाहिर गएर भएका छन्, क्रान्ति भनेकै यही हो, क्रान्तिको सीमा हुँदैन ।’ कुरा गर्ने तर काम नगर्ने नेताबाट जनता आजित भएका छन्, जुन असन्तुष्टि फागुन २१ को मतपरिणामले देखाएको उनको धारणा छ । जनताको मत जिम्मेवारी हो, जुन अहिले आफूसहित रास्वपाले पाएको बताउँदै उनले त्यो पूरा गर्नेतर्फ ध्यान केन्द्रित भएको बताए ।
पाँच नगरपालिका र दुई गाउँपालिका रहेको काभ्रे–२मा ६६ वटा वडा छन् । भौगोलिक हिसाबले सुगम रहेका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर यही क्षेत्रमा पर्छन् । यी ठाउँमा विकासभन्दा पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको बुझाइ छ । काभ्रेको दुःख बनेपाको डुबान र धुलिखेल–खावा सडकको पहिरो हो । डुबानको समस्या कहिले सकिन्छ थाहा छैन, तर खावा सडकखण्ड मर्मतको अन्तिम चरणमा छ । बरु उनको आफ्नै ठाउँ भुम्लु भौगोलिक हिसाबले तुलनात्मक रूपमा विकट छ ।
संघीय सांसद भएकाले विधिविधान निर्माण र कार्यान्वयनमा त उनको भूमिका रहन्छ नै, त्यससँगै आफ्नो क्षेत्रमा देखिएको जटिलता, अनियमिततामा खबरदारीका साथै आवश्यक समन्वयन गर्नुपर्ने उनको कार्यभार हो । काठमाडौँलाई लगभग धान्न सक्ने तरकारी उत्पादन गर्न सक्ने काभ्रे पछिलो समय किसानका समस्याले सुस्ताएको छ ।
उनले काभ्रेका तरकारी किसानका समस्यालाई बुलन्द बनाउने बताउँदै आएका छन् । मूल्य नपाएर निरास किसानका समस्या समाधानका लागि पहल गर्ने उनको पहिलो काम हुने बताएका छन् । मल, बिउबिजनको समस्या अन्त्य, कोल्डस्टोर निर्माणका साथै सर्वपक्षीय विकासमा उनले आफूले पहल गर्ने औँल्याए । धार्मिक पर्यटनका लागि पलान्चोक भगवती, चण्डेश्वरी, भीमसेन थान, पनौती, नालाजस्ता क्षेत्रलाई प्रवर्धन गर्ने उनको योजना छ ।