२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

नियमित महाधिवेशनको बाटोमा गगन

himalayanlife
जीवन शर्मा
२०८२ चैत ११ गते ०६:२५
Shares
नियमित महाधिवेशनको बाटोमा गगन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार पार्टीका पूर्वसभापति शेरबहादुर देउवापक्षलाई सन्देश दिँदै भने– ‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु, अब यो गाडी रोकिँदैन ।’ 

प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै नेतृत्वबाट राजीनामा दिएका थापाको राजीनामा केन्द्रीय समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि उनी फेरि सभापतिकै जिम्मेवारीमा फर्किएका हुन् । 

निर्वाचनपछि मंगलबार पहिलोपटक बैठकको सभापतित्व गरेका गगनले १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्दै आन्तरिक संगठन सुदृढीकरणको नियमित लयमा फर्किएको सन्देश दिएका हुन् । पहिलो सिटमा बसेर पार्टीको गियर बढाउन लागेको सन्देशसहित गगनले आगामी भदौ २४ देखि २६ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् । 

पुस २७ देखि माघ १ गते सम्पन्न विशेष महाधिवेशनलगत्तै प्रतिनिधिसभाको निर्वाचनमा होमिएको गगन नेतृत्वको कांग्रेस निर्वाचनमा शर्मनाक पराजयसँगै विक्षिप्त थियो । सभापति थापा आफैंले सर्लाही ४ बाट चुनाव हारे भने उनको नेतृत्वमा रहेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १८ स्थानमा मात्रै जित्यो । समानुपातिकमा समेत चानचुन १८ लाख मत ल्याएर २० सांसद पायो । कांग्रेस नेतृत्वमाथि फरक समूहका नेता–कार्यकर्ताले पार्टी हारको कारक गगन नै भएको टिप्पणी गरेका छन् । तर, वर्तमान केन्द्रीय समितिका नेताहरूले भने विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन नभएको भए कांग्रेस अझै रसातलमा पुग्ने दाबी गर्दै आएका छन् । सभापति थापाले महाधिवेशनको तयारी गर्दै गर्दा देउवा पक्षका नेता श्याम घिमिरेले भने विशेष महाधिवेशनविरुद्धको रिट सर्वोच्चबाट टुंगो नलाग्दासम्म महाधिवेशन नहुने टिप्पणी गरेका छन् । देउवा समूहका नेताहरू विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कांग्रेसलाई अस्वीकार गर्दै पार्टीमा दुईवटा सभापति रहेको बताउँदै आएका छन् । 

तर सभापति थापाले एउटा विशिष्ट अवस्थामा, विशेष महाधिवेशनबाट आएको नेतृत्वले कसैलाई पनि पूर्वाग्रहका रूपमा नहेर्ने बताए । ‘हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशनअगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो,’ उनले भने, ‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु । अब यो गाडी रोकिँदैन । यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन ।’

सभापति थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’को योजना अघि सारेका छन् । कांग्रेसमा अब सानो सुधार नभई ग्रान्ड रिफर्म चाहिएको छ,’ उनले भने, ‘सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्य शक्तिको दुरुपयोगजस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको छ ।’ सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढंगले अभिलेखीकरण र अद्यावधिक गरिने भन्दै थापाले प्रत्येक सदस्यले ‘कांग्रेस आइडी’ पाउने र प्रक्रिया डिजिटल हुने बताएका छन् । 

यस्तै, विभिन्न पेसा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’को ढोका खोलिने उनको भनाइ छ । सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताका लागि थापाले ‘कांग्रेस लिडरसिप एकेडेमी’को अवधारणा अघि सारेका छन् । अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रमअनुसार प्रशिक्षण लिनुपर्नेछ । ‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ,’ उनले भने ।  

कांग्रेसको प्रस्तावअनुसार महाधिवेशनको तयारी प्रक्रिया चैत महिनाबाटै सुरु हुनेछ । क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि चैत २१ गतेदेखि मसान्तसम्म विशेष अभियान सञ्चालन गरिनेछ भने वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता नवीकरण र वितरण गर्ने योजना छ । जेठ मसान्तभित्र सदस्यता विवरण केन्द्रमा पठाइसक्ने र असार १५ गतेसम्म केन्द्रले आवश्यक छानबिन सम्पन्न गर्ने तयारी गरेको छ । त्यसपछि अद्यावधिक सदस्यता विवरण निर्वाचन समितिलाई बुझाइनेछ । साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ÷नगरपालिका अधिवेशन, साउन २३ प्रदेशसभा क्षेत्र अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । त्यस्तै, भदौ ६–७ गते जिल्ला अधिवेशन, भदौ १५–१६ गते प्रदेश अधिवेशन र भदौ २४–२६ केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावलाई गरिएको छ । सो प्रस्तावलाई बैठकले निर्णय गरेर जाने नेताहरूले बताएका छन् ।  

निर्वाचन पराजयको घाउमा मल्हम लगाउँदै विस्तारै सम्हालिँदै आएको कांग्रेस नियमित सांगठनिक गतिविधिमा फर्किएको कांग्रेस उपसभापति पुष्पा भुसालले बताइन् । संख्यात्मक हिसाबले संसद्मा कमजोर रहे पनि बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसको योजना छ । त्यस्तै, पार्टी महाधिवेशनका सबै प्रक्रियालाई समयमै व्यवस्थित बनाउने, निर्वाचनको समीक्षा प्रदेश स्तरमा गर्ने, पार्टीभित्रको अनुशासनको कारबाहीलगायत विषयमा समेत छलफल भइरहेको उपसभापति भुसालको भनाइ छ । ‘बैठकमा पेस भएको १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव छलफलपश्चात् स्वीकृत हुन्छ,’ उनले मध्यान्हसँग भनिन्, ‘पार्टीमा व्यापक सांगठनिक सुधार गर्दै अघि बढ्ने सन्दर्भमा पार्टीका पक्षसँग नेताहरू संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्छौं । निर्वाचनको समीक्षा प्रदेश स्तरमा गर्ने, पार्टीभित्रको अनुशासनको कारबाहीलगायत विषयमा समेत छलफल भइरहेको छ ।’ 

गत चैत २ गते नै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका थिए । ‘पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको आयोजना गर्नुपर्नेछ,’ महामन्त्री पौडेलले भनेका थिए, ‘यसै परिस्थितिमा कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरू के हुन सक्लान् ? सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’ उनको आह्वानअनुसार पार्टीमा आवश्यक सुझावहरू आइरहेको कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।   

सम्बन्धित खबर