२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

पश्चिम एसिया युद्धले महँगियो भान्सा, उद्योग बन्द, औषधि अभावको खतरा

himalayanlife
विष्णु पोखरेल
२०८२ चैत ११ गते ०६:४०
Shares
पश्चिम एसिया युद्धले महँगियो भान्सा, उद्योग बन्द, औषधि अभावको खतरा

काठमाडौं : पश्चिम एसियामा विगत चार सातादेखि जारी युद्ध तथा लालसागरमा भएको अवरोधले नेपाल पनि ठुलो संकटतर्फ उन्मुख हुँदै गएको छ । 

इन्धनमा भएको मूल्यवृद्धि तथा होर्मुज सागरमा भएको अवरोधले विभिन्न उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ आयात हुन नसक्दा नेपालका विभिन्न उद्योग तथा विकास निर्माणका कार्य नै प्रभावित हुने अवस्था आएको हो । खाडीदेशबाट आउने प्लास्टिकजन्य उद्योगका कच्चापदार्थदेखि विकास निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री आयात हुन नसकेपछि अर्थतन्त्रमै दबाब सिर्जना हुन थालेको छ । डलरको मूल्यमा भएको ऐतिहासिक मूल्यवृद्धि, इन्धन आपूर्तिमा भएको समस्या तथा होर्मुज जलडमरुबाट आउने विभिन्न उद्योगका कच्चापदार्थको अभाव भइसकेको छ ।

युद्ध र अवरोधले ऊर्जासँग सम्बन्धित रहेका कृषि, विकास निर्माण, ढुवानी व्यवसायदेखि लिएर सबैजसो उद्योग तथा पर्यटन क्षेत्रमा समेत असर देखिने अर्थविश्लेषकहरू बताउँछन् । युद्धको बाछिटाले रेमिटेन्सदेखि विकास निर्माणसम्मका कार्यमा असर पुर्‍याउने भएकाले सोहीअनुसार तयारी थाल्न ढिला हुँदै गएको अर्थविश्लेषक डा. खोमराज खरेलले बताए । 

महँगो हुन थाल्यो नेपालीको भान्सा

मध्यपूर्वमा जारी संकटले नेपालीको भान्सा महँगो हुन थालिसकेको छ । सरकारले औपचारिक रूपमा यातायात तथा ढुवानी भाडा समायोजन गर्न बाँकी भए पनि ढुवानी व्यवसायीले मनलाग्दी शुल्क लगाउन थालेपछि महँगी बढ्न थालेको हो । इन्धनको मूल्यवृद्धिसँगै खानेतेल, तरकारी, खाद्यान्नलगायत सामग्रीमा मूल्य बढेको छ । खानेतेलको मूल्य पछिल्ला दुई हप्तामा १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । यस्तै ढुवानी महँगो हुन थालेपछि तरकारी, चामललगायत खाद्यान्नको पनि भाउ बढेको छ । कृषि क्षेत्रमा ट्याक्टर, पानीपम्प, कृषि यन्त्रका लागि पनि इन्धनकै प्रयोग हुनाले किसानको लागत पनि महँगो भएको छ । जसको सिधा असर भान्सामा परेको हो । 

औषधिको मूल्य तीव्र गतिमा उकालो लाग्दै 

मध्यपूर्वमा देखिएको तनावले मानिसको स्वास्थ्य उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको समेत अभाव सुरु भएको छ । इन्धनको मूल्यमा आएको तीव्र वृद्धि तथा अवरोधका कारण औषधिका लागि आवश्यक कच्चापदार्थको अभाव सुरु भएको छ भने औषधिको भाउ पनि तीव्र गतिमा बढिरहेको छ । नेपालमा धेरैजसो औषधि भारत र चीनबाट आयात हुने गर्दछन् । औषधिका लागि चाहिले कच्चापदार्थ अमेरिका, जर्मनी सिंगापुरलगायतबाट आयात गर्ने गरिन्छ । भारतले पनि कच्चापदार्थ अन्य देशबाटै आयात गरेर औषधि बनाउने गर्दछ ।

लालसागरको अवरोधले गम्भीर प्रकृतिका रोगको औषधिको अभाव हुने खतरा बढेको हो । औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार मल्हम बनाउन चाहिने पेट्रोलियम जेली, सलाइनका बोतल बनाउन प्रयोग हुने प्लास्टिकका दाना, ग्लिसरिन र आइपिएजस्ता पदार्थको लागत र उपलब्धतामा ठुलो प्रभाव परेको छ । उनले सलाइनको बोतल बनाउने कच्चापदार्थ (दाना)को मूल्यसमेत ६० देखि ७० प्रतिशत बढिसकेको बताए । औषधि उद्योगीका अनुसार औषधिका लागि आयात गरिने कच्चापदार्थमा ३० देखि ७० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । विदेशी आपूर्तिकर्ताले औषधि र कच्चापदार्थको अर्डर नै लिन छाडेको र युद्ध लम्बिए केही दिनभित्रै औषधिको अभाव सुरु हुनसक्ने उद्योगीहरूको भनाइ छ । औषधि व्यवस्था विभागका अनुसार नेपालमा १ सय ३० उद्योग दर्ता भएका छन् । जसमध्ये करिब ८० वटा उद्योग सञ्चालनमा छन् ।   

बन्द हुँदै खानेपानी उद्योग 

लालसागरमा भएको अवरोधका कारण नेपालका खानेपानी उद्योग समेत धमाधम बन्द हुन थालेका छन् । खानेपानीका जार, बोतल, तिनमा प्रयोग हुने बिर्को बनाउने आवश्यक पर्ने कच्चापदार्थको अभाव भएपछि खानेपानी उद्योग धमाधम बन्द हुन थालेका हुन् । कोशी र मधेश प्रदेशका उद्योगहरू धमाधम बन्द भइरहेका छन् । काठमाडौं उपत्यकाका धेरै उद्योग पनि कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका  छन् । यो हप्ताभित्रमा समस्या समाधान नभए उपत्यकाका धेरैजसो उद्योग बन्द हुने बताउँछन्, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बू । 

प्लास्टिक दानाको मुख्य आधार कच्चा तेल रहेको र अहिले यसको उत्पादनमा आएको गिरावटका कारण विश्व बजारमै दानाको चरम अभाव देखिएको उद्योगीहरू बताउँछन् । तेल प्रशोधन गर्ने ठुला कम्पनीहरूले उत्पादन कटौती गर्दा बजारमा दानाको उपलब्धता न्यून भएको उनीहरूको भनाइ छ । पश्चिम एसियामा जारी युद्धले पेट्रोलियम पदार्थको सम्पूर्ण आपूर्ति शृंखला नै बिथोलिदिएको छ, जसका कारण लजिस्टिक र ढुवानी खर्चमा भारी वृद्धि भएको छ । एकातिर कच्चापदार्थको अभाव भइरहेको छ भने अर्कोतिर कच्चापदार्थको भाउ विश्वबजारमा ३० प्रतिशतसम्म बढेको छ । जसले गर्दा कच्चापदार्थ आइहालेमा पनि खानेपानीको मूल्य बढाउने तयारी उद्योगीहरूको छ ।

विशेषगरी खानेपानीको बोतल र जार बनाउन प्रयोग हुने ‘पेट रेजिन’ र बिर्को तथा जारका लागि आवश्यक ‘एचडिपिई’को मूल्य अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा बढेको छ । बोतल उत्पादनका लागि प्रयोग हुने पेट रेजिनको अन्तर्राष्ट्रिय मूल्य अहिले प्रतिटन ९ सय ५० देखि १ हजार १ सय डलरको बीचमा पुगेको छ । युद्ध सुरु हुनुभन्दा पहिले यो मूल्य औसत ८ सयदेखि ८ सय ५० डलर हाराहारीमा सीमित थियो । यस्तै, जार र बिर्को बनाउन प्रयोग हुने उच्च घनत्वको प्लास्टिक दाना एचडिपिई र पिपीको मूल्य प्रतिटन १ हजार ५० देखि १ हजार २ सय ५० डलरसम्म पुगेको छ । यस्तै, खानेपानीका पाइप निर्माण गर्ने कच्चापदार्थको समेत अभाव हुँदा पाइप उत्पादन हुन नसकी खानेपानी आयोजना नै प्रभावित हुन थालेका छन् । 

विकास निर्माण प्रभावित 

इन्धनको मूल्यवृद्धिका कारण ढुवानी खर्च र प्याकिङ सामग्री बढेको भन्दै उद्योगीहरूले सिमेन्ट र फलामे छडको मूल्य बढाएका छन् । सिमेन्टमा त पछिल्ला दुई हप्तामै ९० देखि सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । कोइलाको मूल्य बढेको, केमिकल, ढुवानीदर र विदेशी विनिमयदरमा भएको वृद्धिले सिमेनटको भाउ अझ वृद्धि हुन सक्ने एक सिमेन्ट उद्योगीले बताए । सिमेन्ट र छडको भाउ बढ्दा विकास निर्माणका आयोजनाको लागत नै बढ्दै गएको छ । यसैगरी विकास निर्माणका कार्यमा प्रयोग हुने बिटुमिन तथा इमल्सिफायर, केमिकल, स्प्रिटजस्ता पदार्थको आयात हुन नसक्दा आयोजनाको लागत बढ्दा समग्र अर्थतन्त्रमा नै दबाब सिर्जना हुँदै गएको छ ।

सम्बन्धित खबर