२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

पश्चिम एसिया युद्धले महँगियो भान्सा, उद्योग बन्द, औषधि अभावको खतरा

Nada
विष्णु पोखरेल
२०८२ चैत ११ गते ०६:४०
Shares
पश्चिम एसिया युद्धले महँगियो भान्सा, उद्योग बन्द, औषधि अभावको खतरा

काठमाडौं : पश्चिम एसियामा विगत चार सातादेखि जारी युद्ध तथा लालसागरमा भएको अवरोधले नेपाल पनि ठुलो संकटतर्फ उन्मुख हुँदै गएको छ । 

ncell

इन्धनमा भएको मूल्यवृद्धि तथा होर्मुज सागरमा भएको अवरोधले विभिन्न उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ आयात हुन नसक्दा नेपालका विभिन्न उद्योग तथा विकास निर्माणका कार्य नै प्रभावित हुने अवस्था आएको हो । खाडीदेशबाट आउने प्लास्टिकजन्य उद्योगका कच्चापदार्थदेखि विकास निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री आयात हुन नसकेपछि अर्थतन्त्रमै दबाब सिर्जना हुन थालेको छ । डलरको मूल्यमा भएको ऐतिहासिक मूल्यवृद्धि, इन्धन आपूर्तिमा भएको समस्या तथा होर्मुज जलडमरुबाट आउने विभिन्न उद्योगका कच्चापदार्थको अभाव भइसकेको छ ।

युद्ध र अवरोधले ऊर्जासँग सम्बन्धित रहेका कृषि, विकास निर्माण, ढुवानी व्यवसायदेखि लिएर सबैजसो उद्योग तथा पर्यटन क्षेत्रमा समेत असर देखिने अर्थविश्लेषकहरू बताउँछन् । युद्धको बाछिटाले रेमिटेन्सदेखि विकास निर्माणसम्मका कार्यमा असर पुर्‍याउने भएकाले सोहीअनुसार तयारी थाल्न ढिला हुँदै गएको अर्थविश्लेषक डा. खोमराज खरेलले बताए । 

महँगो हुन थाल्यो नेपालीको भान्सा

मध्यपूर्वमा जारी संकटले नेपालीको भान्सा महँगो हुन थालिसकेको छ । सरकारले औपचारिक रूपमा यातायात तथा ढुवानी भाडा समायोजन गर्न बाँकी भए पनि ढुवानी व्यवसायीले मनलाग्दी शुल्क लगाउन थालेपछि महँगी बढ्न थालेको हो । इन्धनको मूल्यवृद्धिसँगै खानेतेल, तरकारी, खाद्यान्नलगायत सामग्रीमा मूल्य बढेको छ । खानेतेलको मूल्य पछिल्ला दुई हप्तामा १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । यस्तै ढुवानी महँगो हुन थालेपछि तरकारी, चामललगायत खाद्यान्नको पनि भाउ बढेको छ । कृषि क्षेत्रमा ट्याक्टर, पानीपम्प, कृषि यन्त्रका लागि पनि इन्धनकै प्रयोग हुनाले किसानको लागत पनि महँगो भएको छ । जसको सिधा असर भान्सामा परेको हो । 

औषधिको मूल्य तीव्र गतिमा उकालो लाग्दै 

मध्यपूर्वमा देखिएको तनावले मानिसको स्वास्थ्य उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको समेत अभाव सुरु भएको छ । इन्धनको मूल्यमा आएको तीव्र वृद्धि तथा अवरोधका कारण औषधिका लागि आवश्यक कच्चापदार्थको अभाव सुरु भएको छ भने औषधिको भाउ पनि तीव्र गतिमा बढिरहेको छ । नेपालमा धेरैजसो औषधि भारत र चीनबाट आयात हुने गर्दछन् । औषधिका लागि चाहिले कच्चापदार्थ अमेरिका, जर्मनी सिंगापुरलगायतबाट आयात गर्ने गरिन्छ । भारतले पनि कच्चापदार्थ अन्य देशबाटै आयात गरेर औषधि बनाउने गर्दछ ।

लालसागरको अवरोधले गम्भीर प्रकृतिका रोगको औषधिको अभाव हुने खतरा बढेको हो । औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार मल्हम बनाउन चाहिने पेट्रोलियम जेली, सलाइनका बोतल बनाउन प्रयोग हुने प्लास्टिकका दाना, ग्लिसरिन र आइपिएजस्ता पदार्थको लागत र उपलब्धतामा ठुलो प्रभाव परेको छ । उनले सलाइनको बोतल बनाउने कच्चापदार्थ (दाना)को मूल्यसमेत ६० देखि ७० प्रतिशत बढिसकेको बताए । औषधि उद्योगीका अनुसार औषधिका लागि आयात गरिने कच्चापदार्थमा ३० देखि ७० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । विदेशी आपूर्तिकर्ताले औषधि र कच्चापदार्थको अर्डर नै लिन छाडेको र युद्ध लम्बिए केही दिनभित्रै औषधिको अभाव सुरु हुनसक्ने उद्योगीहरूको भनाइ छ । औषधि व्यवस्था विभागका अनुसार नेपालमा १ सय ३० उद्योग दर्ता भएका छन् । जसमध्ये करिब ८० वटा उद्योग सञ्चालनमा छन् ।   

बन्द हुँदै खानेपानी उद्योग 

लालसागरमा भएको अवरोधका कारण नेपालका खानेपानी उद्योग समेत धमाधम बन्द हुन थालेका छन् । खानेपानीका जार, बोतल, तिनमा प्रयोग हुने बिर्को बनाउने आवश्यक पर्ने कच्चापदार्थको अभाव भएपछि खानेपानी उद्योग धमाधम बन्द हुन थालेका हुन् । कोशी र मधेश प्रदेशका उद्योगहरू धमाधम बन्द भइरहेका छन् । काठमाडौं उपत्यकाका धेरै उद्योग पनि कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका  छन् । यो हप्ताभित्रमा समस्या समाधान नभए उपत्यकाका धेरैजसो उद्योग बन्द हुने बताउँछन्, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बू । 

प्लास्टिक दानाको मुख्य आधार कच्चा तेल रहेको र अहिले यसको उत्पादनमा आएको गिरावटका कारण विश्व बजारमै दानाको चरम अभाव देखिएको उद्योगीहरू बताउँछन् । तेल प्रशोधन गर्ने ठुला कम्पनीहरूले उत्पादन कटौती गर्दा बजारमा दानाको उपलब्धता न्यून भएको उनीहरूको भनाइ छ । पश्चिम एसियामा जारी युद्धले पेट्रोलियम पदार्थको सम्पूर्ण आपूर्ति शृंखला नै बिथोलिदिएको छ, जसका कारण लजिस्टिक र ढुवानी खर्चमा भारी वृद्धि भएको छ । एकातिर कच्चापदार्थको अभाव भइरहेको छ भने अर्कोतिर कच्चापदार्थको भाउ विश्वबजारमा ३० प्रतिशतसम्म बढेको छ । जसले गर्दा कच्चापदार्थ आइहालेमा पनि खानेपानीको मूल्य बढाउने तयारी उद्योगीहरूको छ ।

विशेषगरी खानेपानीको बोतल र जार बनाउन प्रयोग हुने ‘पेट रेजिन’ र बिर्को तथा जारका लागि आवश्यक ‘एचडिपिई’को मूल्य अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा बढेको छ । बोतल उत्पादनका लागि प्रयोग हुने पेट रेजिनको अन्तर्राष्ट्रिय मूल्य अहिले प्रतिटन ९ सय ५० देखि १ हजार १ सय डलरको बीचमा पुगेको छ । युद्ध सुरु हुनुभन्दा पहिले यो मूल्य औसत ८ सयदेखि ८ सय ५० डलर हाराहारीमा सीमित थियो । यस्तै, जार र बिर्को बनाउन प्रयोग हुने उच्च घनत्वको प्लास्टिक दाना एचडिपिई र पिपीको मूल्य प्रतिटन १ हजार ५० देखि १ हजार २ सय ५० डलरसम्म पुगेको छ । यस्तै, खानेपानीका पाइप निर्माण गर्ने कच्चापदार्थको समेत अभाव हुँदा पाइप उत्पादन हुन नसकी खानेपानी आयोजना नै प्रभावित हुन थालेका छन् । 

विकास निर्माण प्रभावित 

इन्धनको मूल्यवृद्धिका कारण ढुवानी खर्च र प्याकिङ सामग्री बढेको भन्दै उद्योगीहरूले सिमेन्ट र फलामे छडको मूल्य बढाएका छन् । सिमेन्टमा त पछिल्ला दुई हप्तामै ९० देखि सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । कोइलाको मूल्य बढेको, केमिकल, ढुवानीदर र विदेशी विनिमयदरमा भएको वृद्धिले सिमेनटको भाउ अझ वृद्धि हुन सक्ने एक सिमेन्ट उद्योगीले बताए । सिमेन्ट र छडको भाउ बढ्दा विकास निर्माणका आयोजनाको लागत नै बढ्दै गएको छ । यसैगरी विकास निर्माणका कार्यमा प्रयोग हुने बिटुमिन तथा इमल्सिफायर, केमिकल, स्प्रिटजस्ता पदार्थको आयात हुन नसक्दा आयोजनाको लागत बढ्दा समग्र अर्थतन्त्रमा नै दबाब सिर्जना हुँदै गएको छ ।

uae

सम्बन्धित खबर