
काठमाडौँ : चीनको १५ औं पञ्चवर्षीय योजनाका विशेषता र त्यसबाट नेपालले लिन सक्ने फाइदाबारे विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा अनुसन्धानकर्ता एवम् वित्तीय व्यवस्थापन विज्ञ डा. सीता ढुंगाना र नेपाल प्रज्ञा प्रतिष्ठनकी वैज्ञानिक डा. टिष्टा प्रसाईँ जोशीले चीनको आर्थिक विकासको योजनाबाट नेपालले लाभ उठाउन सक्ने तरिका र मुद्दाबारे प्रकाश पारे ।
चीनले आफ्नो योजनामा विज्ञान तथा प्रविधिलाई मुख्य चालक शक्ति मानेको डा. ढुंगानाले बताइन् । १५औँ योजनामा दिगो विकास, उत्पादनमा सुधार,गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी अर्थतन्त्र लगायतका विषय समेटिएको जानकारी गराउँदै उनीहरूले यसको प्रमुख उद्देश्य उच्च गुणस्तरीय विकास रहेको स्पष्ट पारे ।
अबको ५ वर्षमा १४० ट्रिलियन बराबरको बजेट बनाउने लक्ष्य राखिएको छ । प्रविधिमा जोड दिँदै एआई र ६ जी कम्युनिकेशन टेक्नोलोजीको उपयोगबारे समेत उनीहरूले जानकारी गराए ।
चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गरेको विषयमा संस्थाका अध्यक्ष शोभित उप्रेतीले जानकारी गराए ।
चीनले गत वर्षलाई ‘असाधारण उपलब्धिको वर्ष’ भन्दै आर्थिक तथा सामाजिक विकासका प्रमुख लक्ष्यहरू सफलतापूर्वक हासिल हुने निष्कर्ष निकालेको छ ।
आर्थिक सुधार, नवप्रवर्तन र आन्तरिक क्षमतामा जोड दिँदै आर्थिक सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पन वक्ताहरूले जोड दिएको थिए ।