
काठमाडौंः निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ ।
बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन गरेका हुन्। उनले कुनैपनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रुपमा व्याख्या गरे ।
उनले निर्वाचन अवधीभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गरे । उनले विशेषगरी जेनजी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको उनले उल्लेख गरे ।