काठमाडौं : चार जनालाई अजरबैजान पठाइदिने प्रलोभन दिएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनाविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी मुद्दा दायर गरेको छ ।
विभागले रोल्पाका कुलबहादुर घर्ती र सल्यानका सुमन शेर्पालीले रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै रोल्पाका तेजबहादुर वली र बिमलराज डाँगी तथा दाङका रत्न बाठामगर र सल्यानका छवी वलीलाई ठगी गरेको जनाएको छ ।
विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार चार जनाबाट उनीहरूले ३१ लाख २६ हजार रुपैयाँ लिएर डाँगीलाई अजरबैजानसम्म पुर्याएको र बाँकी तीन जनालाई भारतमा लगेर अलपत्र पारेका थिए ।
वैदेशिक रोजगार ऐनले इजाजत बिना व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउन प्रतिबन्ध लगाएको छ । विभागले प्रतिवादी बनाएका दुबै जनाविरुद्ध बिगो रकम र त्यसको ५० प्रतिशतले हुन आउने हर्जाना रकमसमेत गरी ४७ लाख ६९ हजार ५ सय रुपैयाँ बिगो दाबीसहित न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ । विभागले केही समययता वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी मुद्दा दर्ता गराउने क्रमलाई तिव्रता दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies