इन्धनको मूल्य भारी बृद्धि भएपछि सरकारको चर्को आलोचना भइरहेको छ । नागरिकले सरकारी अधिकारीसँग सोध्ने प्रमुख प्रश्न नै इन्धनको मूल्य बृद्धिको विषय बनेको छ । प्रतिनिधिसभाबाट मन्त्रीहरू बाहिरिदै गर्दा सञ्चारकर्मीले सोधेका मध्ये प्रमुख प्रश्न थियो– इन्धनको भारी मूल्य बृद्धि । सोमबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा २१ र डिजेल तथा मट्टितेलको मूल्यमा २७ रुपैयाँ बृद्धि गरेको छ । बृद्धिपछिको नयाँ मूल्यदर पेट्रोलको १९९ र डिजेल तथा मट्टितेलको १९२ पुगेको छ । वर्ष दिन यताको तुलनामा प्रतिलिटर झण्डै दोब्बरले मूल्य बृद्धि भएपछि सरकारको चर्को आलोचना भइरहेको छ । मूल्यबृद्धिको असर नागरिकको आम जीवनमा पर्ने भएकाले पनि प्रमुख चासोको विषय बन्न पुगेको हो । यसअघि पनि इन्धनको मूल्यबृद्धि हुने गरेको थियो । तर यसपटकको मूल्यबृद्धि उच्च छ ।
उच्च दरको मूल्यबृद्धि तुलनात्मक रुपमा शहरी जीबन प्रभावित हुुँनेछ । तर भारी मूल्यबृद्धिलाई मन्त्रीहरुले भने स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् । अझ प्रधानमन्त्रीकै परामर्शमा मूल्यबृद्धि भएको सूचना सार्वजनिक भएको छ । इन्धनको मात्रै नभएर अन्य उपभोग्य र निर्माणका सामग्रीमा पनि मूल्यबृद्धि भएको छ । आकासिएको मूल्यबृद्धिले न्यून आय भएका नागरिक बढी पीडित बन्नेछन् । किनकि आय यथावत रहने, तर उपभोग्य वस्तुको मूल्यबृद्धिले नागरिकको आर्थिक जीवन सन्तुलन नराम्रोसँग विथोलिएको छ । तर सेवा तथा सुविधा भने थप कमजोर बन्दै गएको छ । शनिबार मात्रै धादिङको धार्केमा ट्रक रोकेर किसानहरुले मल लुटेका थिए । तस्करहरुले ल्याएको मल किसानले खोस्नुको मूल कारण भने सरकारकै अक्षमतासँग जोडिएको छ । सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेपछि किसान आफै ट्रक रोकेर मल लुट्ने अवस्थामा उत्रिएका थिए ।
स्वास्थ्य, शिक्षा र दैनिक उपभोग्य वस्तुको अभाव खेपिरहेका नागरिकलाई मूल्यबृद्धिको भारी बोकाइनुले सरकार हुनुको अनुभूति गर्न सक्ने अवस्था छैन । किसानले मल नपाइरहँदा विद्यार्थीहरुलाई पुस्तक उपलब्ध गराउन सरकारले सकेको छैन । छपाइ नै नभएकाले विद्यार्थीहरुले पुस्तक नपाउने निश्चित जस्तै बनेको छ । त्यो पनि नागरिकलाई सुविधाको स्वर्गमा लैजाने स्वप्निल प्रतिबद्धता जनाएर देशभर जनप्रतिनिधि चुनिएको महिना दिन भित्रकै अवधिमा यस्तो सास्ती नागरिकले खेप्नु परेको छ । यो अवस्था भनेको संविधान प्रावधानबाट मात्रै नभएर नागरिक दायित्वबाट समेत सरकार च्यूत भएको सन्देश हो । सरकार बिफल बनेको प्रमाण हो । यो स्वयम् सरकार प्रमुखसँगै सिंगो देशबासीका निम्ति पनि दुखद् खबर हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies