काठमाडौं : लामो समयपछि मलेसियाको वैदेशिक रोजगारी आफ्नो पुरानो लयमा फर्किएको छ । जेठ महिनामा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका २९ हजार ३ सय ८२ जनामध्ये ७ हजार १ सय ४१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका छन् ।
लामो समयपछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या ह्वात्तै बढेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेट्रिक, ओएससीलगायतका संस्थाहरु खारेज गरेपछि २०७५ जेठ १४ गते पूर्व श्रम स्वीकृति बन्द गरेको थियोे । त्यसयता मलेसियाको रोजगारी प्रभावित भएको थियोे ।
केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले मलेसियाको रोजगारी रोकिँदा रेमिट्यान्स आप्रवाहमा समस्या उत्पन्न भएको बताएका थिए । हाल मलेसियामा कामदारको न्युनतम तलब पनि बढेको छ ।
जेठ महिनामा रिइन्ट्री र वैधानिकीकरणका प्रक्रिया पूरा गरेर पुनः वैदेशिक रोजगारीमा जान ६२ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको मासिक प्रतवेदन अनुसार जेठ महिनामा संस्थागतरूपमा साउदी अरबमा ६ हजार २ सय ७७ जनाको श्रम स्वीकृति भएको छ । साउदी अरब पछि कतार जानेको श्रम स्वीकृति धेरै भएको छ । कतार जान ४ हजार ७ सय ७३ जनाले श्रम स्वीकृति लिएका छन् । यूएई जान ३ हजार ५ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् ।
जेठमा वैदेशिक रोजगारीका लागि कुवेत जान श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । जेठमा कुवेत जान ४ हजार ९१ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम जेठमा पनि देखिएको छ । रोमानियाका लागि १ हजार ४ सय ८८ जनाले श्रम स्वीकृति लिएका छन् ।
जेठमा बेलायतका लागि १६, बहराइनका लागि ५ सय २४ जना, ब्रुनाईका लागि १ सय १६, साईप्रसका लागि ३ सय ३३, ओमानका लागि १ सय ८६ र जोर्डनका लागि ९९ जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । यस्तै जेठ महिनामा अल्वानियाका लागि ४३, जापानका लागि १ सय ६८, माल्दिभ्सका लागि १२, मरिससका लागि ६ र सिसेल्सका लागि ५९ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिएर जानेमा यूएई, कतार र साउदी अरेबिया अग्रस्थानमा रहेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies