सरकारले संघ र प्रदेशसभा चुनावको तयारी अगाडि बढाएको छैन । पाँच वर्षे कार्यकाल आगामी मंसिरमा सकिने भएपनि सरकारले चुनावको मितिबारे कुनै निर्णय गरेको छैन । तर घोषणा हुनै बाँकी चुनावमा उम्मेद्वारी दिने घोषणाको भने लहर नै चलेको छ । मंगलबार चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेले नयाँ दल नै घोषणा गरेर चुनावको तयारी गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सभागृहबाट आफू नेतृत्वको राष्ट्रिय स्वतन्त्र दल घोषणा गरे । उनको घोषणासभामा समर्थकहरुको ठूलै उपस्थिति थियो । लामिछानेले आगामी चुनावमा कहाँबाट उम्मेद्वारी दिने भने केही खुलाएनन् । तर चितवन, झापा वा डडेलधुराबाटै उम्मेद्वारी दिने मन भएको बताए ।
चुनौती भएपनि मुलुकमा अहिले देखिएको समस्या हल गर्न पनि राजनीति सफा गर्न आवश्यक रहेको बताउँदै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै प्रतिश्पर्धाको आकांक्षा प्रस्तुत गरे । लामिछानेले प्रष्ट नभनेपनि काठमाडौंबाटै चुनाव लड्नसक्ने संकेत भने दिएका छन् । त्यसोत लामिछाने भन्दा अगाडि नै काठमाडौंबाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा भटाभट चलिरहेको छ । काठमाडौं–१ बाट पुकार बम, काठमाडौं–३ बाट हरिशरण लामिछाने, काठमाडौं–४ बाट आकर्षण पोखरेल, काठमाडौं–५ बाट रञ्जु दर्शना, काठमाडौं–६ बाट अब्दुश मियाँ र काठमाडौं–८ बाट सुमन सायमीले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसरी स्वतन्त्र उम्मेद्वारी घोषणा गरिनु र स्वतन्त्र नाम राखेरै दल गठन हुनुको पछाडि भने स्थानीय चुनावको नतिजा मूख्य कारण हो ।
गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र शाहले जिते । सत्ता गठबन्धन र एमालेका उम्मेद्वार शाहसँग पराजित भएपछि स्वतन्त्र उम्मेद्वारीतर्फ आकर्षण देखिन्छ । स्वतन्त्र उम्मेद्वारीको लहर र आकर्षणले मूख्य दलहरुलाई भने टाउको दुखाइको विषय बनेको छ । किनकि अहिलेसम्म स्वतन्त्र उम्मेद्वारी जनताबाट अनुमोदन हुन्न भन्ने बुझाइले काम गरेको थियो । तर ०७२ को संविधानको प्रावधान बमोजिम दोस्रोपटक भएको स्थानीय चुनावको नतिजा र आगामी चुनावको परिदृष्यले मुलुक लोकतान्त्रिक अभ्यासको सामान्य कालतर्फ रहेको समेत भन्न सकिन्छ । यसलाई नौलो र चुनौतीका रुपमा लिनु भन्दा पनि लोकतान्त्रिक प्रक्रिया सामान्यकालतर्फ अगाडि बढेकाले जनप्रतिनिधि बन्न चाहनेहरूमा दायित्वबोध हुन भने जरुरी छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies